काठमाडौं, जेठ १३। नेकपा एमालेका महासचिव शंकर पोखरेलले विद्यालय शिक्षामै गणतन्त्रबारे पढाउनु पर्ने बताउनु भएको छ । पार्टीका सबै विभागको संयुक्त बैठकलाइृ सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताउनु भएको हो ।
उहाँले गणतन्त्र प्राप्तिपछि केही पनि भएको छैन भन्ने भ्रम चिर्नलाई पनि गणतन्त्र प्राप्तिपछि उपलब्धीका रुपमा देखिएको तथ्य राखेर जनतालाई जगाउनु पर्ने बताउनु भयो । बिद्यालयमै सामाजिक, सास्कृतिक, आर्थिक, विकास निर्माण, शैक्षिकलगायतका क्षेत्रमा भएका उपलब्धीबारे जानकारी गराउन र नयाँ पुस्तालाई सूसुचित गराउन पनि विद्यालय शिक्षामा गणतन्त्र र यस्को उपलब्धिबारे पढाउनु पर्ने महासचिव पोखरेलको भनाई थियो ।
गणतन्त्रपछि जन्मिएका बच्चाहरूले बलिदानीपूर्ण सङ्घर्षबाट लोकतन्त्र(गणतन्त्र स्थापना भएको हो भन्ने जानकारी दिनका लागि पनि विद्यालय शिक्षामै लोकतन्त्र र गणतन्त्रबारे पढाउनु पर्ने पनि उहाँले उल्लेख गर्नुभयो । उहाँले त्यहाँ सम्बोधन गर्दै संविधान संशोधन गरेर भए पनि नागरिकस्तरमै उत्सवका रुपमा लोकतन्त्र-गणतन्त्र दिवस मनाउनु पर्नेमा पनि जोड दिनुभयो । यो पटक एमालेले गणतन्त्र दिवसलाई जेठ १५ मा जनताको उत्सवको दिनका रुपमा मनाउने तयारी गरेको पनि उहाँले उल्लेख गर्नुभयो ।
महासचिव पोखरेलले लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा हुने सबै गतिविधिहरु जनताको सम्प्रभुताका विरुद्धका अर्थात जनताका विरुद्धका गतिविधिहरु हुन् भन्ने कुरामा आम जनतालाई सचेत र जागरुक बनाउने अभियानमाका रुपमा पनि जेठ १५ लाई उत्सवका रुपमा मनाउन लागेको उल्लेख गर्नुभयो ।
जेठ १५ मा मनाउने उत्सव कसैको विरोधमा लक्षित नभएको भन्दै उहाँले गणतन्त्र नेपाली जनताको भन्दै सबै भन्दा ठूलो उत्सव भएकाले जनताको विजयका रुपमा मनाउन लागेको जानकारी दिनुभयो । उहाँले जनताको बलिदानी सङ्घर्षबाट प्राप्त लोकतन्त्र, गणतन्त्र जोगाउन पनि जनताले यो दिन हाम्रो दिन हो भन्ने अनुभुति दिलाउनका लागि पनि एमालेले उत्सवका रुपमा झाँकीसहित मनाउन लागेको जानकारी दिनुभयो ।
लोकतन्त्रले के दियो ? भनेर राजावादीहरुले चलाएका हल्लाले पनि समस्या भएको छ भन्दै त्यस्लाई तथ्यांक राखेरै चिर्नुपर्ने उहाँको भनाइ थियो । महासचिव पोखरेलले लोकतन्त्र जनताको शासन हो भन्ने स्थापित गर्ने एमाले सबैभन्दा अग्रपङ्तिमा रहेको र अव पनि सोहीअनुसार अघि बढन जरुरी रहेको बताउनु भयो ।
राष्ट्रिय स्वाधीनता र रक्षाका लागि सबैभन्दा बढी खटिरहेको र सबैभन्दा बलियो शक्ति पनि एमाले नै भएका कारण अहिले सबैभन्दा बढी प्रहार एमालेमाथि भ्रमपूर्ण र नियोजित ढङ्गले भैरहेको उहाँले दाबी गर्नुभयो । उहाँले एमालेको उज्यालो भविष्यमाथि भैरहेको प्रहारलाई सामना गर्नुपर्नेमा पनि जोड दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्