काठमाडौं, १९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र आजको बहसको विषय नै नभएको बताउनुभएको छ ।
साेमबार नेकपा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आजको समाजमा जन्मिँदै राजा हुने वंश परम्परा र दास मानसिकताको वकालत गर्नु मूर्खता भएको बताउनुभयो ।
भारत, चीन वा अमेरिकामा निर्वाचित जनप्रतिनिधिले देश चलाएको कुरा नबिर्सन उहाँले आग्रह गर्नुभयो । केही देशमा खुम्चिएर राजतन्त्र टिकेको बताउँदै उहाँले दुनियाँमा राजतन्त्रको वैज्ञानिकता र न्यायिकता केही नभएको प्रष्ट पार्नुभयो । ‘यस्तो बेलामा नेपालमा राजतन्त्र पुनः स्थापनाको कुरा गर्नेहरूको चेतनाको स्तर देख्दा दया लागेर आउँछ’ ओलीले भन्नुभयो ।
समाज थिति विधिमा चल्नुपर्ने बताउँदै उहाँले त्यसकै लागि संविधान र कानुन बनेका स्पष्ट पार्नुभयो । सबैभन्दा माथि जनता हुने स्पष्ट पार्दै उहाँले सम्पूर्ण शक्तिका स्रोत जनता भएका बताउनुभयो । अराजकता र असन्तुष्टवादीहरुले नेपाललाई श्रीलङ्का वा बङ्गलादेश बनाउँछु भन्न खोजे पनि आखिर ती मुलुक लोकतन्त्रमा फर्कनुको विकल्प नभएको उहाँले प्रष्ट पार्नुभयो ।
कतिपय पक्षमा सत्ता छोड्नुपरेकाले बेचैनी र कुण्ठा प्रकट भएको बताउँदै ओलीले सरकारले गरेको राम्रा काम नदेख्ने प्रवृत्ति बढेको बताउनुभयो । ‘सरकारको राम्रो काम नदेख्ने र असफलता गराउने खोज्ने ‘घण्टाकर्ण’ प्रवृत्ति देखियो’, उहाँले भन्नुभयो ।
एमाले सरकारको नेतृत्वमा धेरै काम भएकाले एमाले माथि केन्द्रित आक्रमण गरिएको उहाँको भनाइ छ । एमाले नेतृत्वको सरकाले देशलाई ओरालो लाग्ने कुराबाट रोकेको उहाँले दाबी गर्नुभयो । ‘सबै क्षेत्रमा राम्रा काम गरेका छौँ । हामी अझ प्रभावकारी रूपमा विकास र सुशासनका लागि अघि बढ्नेछौँ’, उहाँले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्