जनता टाइम्स

२१ जेष्ठ २०८२, बुधबार १४:०१

विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु


काठमाडौँ ,२१ जेठ । विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । सर्लाही, पर्सा लगायतका जिल्लामा भएको सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको हो । सर्लाहीको बागमती नगरपालिका–८ स्थित सडकमा बरहथवाबाट सोल्टीतर्फ जाँदै गरेको ना.२ त २८७ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने सागर विष्टकी छोरी ४ वर्षीया प्रनिषा विष्टको मङ्गलवार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको वयोधा अस्पताल वीरगन्जमा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै पर्साको पकाहा मैनपुर गाउँपालिका–३ स्थित सडकमा धोरेबाट खेस्राहातर्फ जाँदै गरेको बीआर २२ एवाई २९९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मङ्गलवार राति दुर्घटना हुँदा चालक छिपहरमाई गाउँपालिका–२ चर्गाहा बस्ने ३० वर्षीय शत्रुधन मुखियाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

पर्साकै वीरगन्ज महानगरपालिका–१४ ठुलो पिपरास्थित सडकमा एचआर ५८ ई ५८९३ नम्बरको ट्रकले ना.४४ प. ९८५ नम्बरको मोटरसाइकललाई गए राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही महानगरपालिका– १४ ठुलो पिपरा बस्ने ३५ वर्षीय सहिद अन्सारीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्युरो अस्पताल बारामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको वीरगन्ज हेल्थकेयर अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।