जनता टाइम्स

२३ जेष्ठ २०८२, शुक्रबार १४:२२

पतञ्जलि जग्गा प्रकरण : माधवसँगै मुद्दामा परेका सूर्यबिनायकका मेयर बासुदेव थापाको पद निलम्बन नहुने, जग्गा जफत गर्न प्रतिवादी 


काठमाडौं, जेठ २२ । पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपालसँगै मुद्दा दायर भएका भक्तपुरको सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाको पद निलम्बन नहुने भएको छ ।

अख्तियारले नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । सार्वजनिक पद धारण गरेको व्यक्तिविरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर हुने बित्तिकै निलम्बनमा पर्ने कानूनी व्यवस्था छ । मुद्दा दर्ता भएसँगै अध्यक्ष नेपालको भने सांसद पद स्वतः निलम्बन भइसकेको छ ।

सूर्यबिनायकका मेयर थापाले पनि हदबन्दी छुट जग्गा किनेका थिए । त्यसैको आधारमा थापालाई अख्तियारले प्रतिवादी बनाएको हो । अख्तियारले सो जग्गा जफत प्रयोजनको लागि मात्रै थापालाई प्रतिवादी बनाइएकाले मेयर पद निलम्बन नहुने अख्तियारका सहायक प्रवक्ता उपसचिव देवीप्रसाद थपलियाले बताउनु भयो । यसअघि ललिता निवास प्रकरणमा पनि सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको पनि जग्गा जफत मात्र भएको थियो ।

प्रमुख थापाले आफूले साविक साँगा गाविस ४ (ख) को कित्ता नम्बर ५५२ को जग्गा डिल्लीध्वज बराइलीसँग १ करोड ३० लाख ६६ हजारमा खरिद गरेको भन्ने गत कात्तिकमा अख्तियारमा बयान दिनुभएको थियो । थापाले अख्तियारमा आफूलाई उक्त जग्गा पतञ्जलीको जग्गा भएको जानकारी नभएकाले डिल्लीध्वज बराइलीसँग किनेको बयान दिनुभएको छ । आफूले वडा कार्यालय, मालपोत कार्यालय मोठ रोक्का हेरी रित पुर्याई खरिद गरेको पनि उहाँको भनाई छ ।

‘मलाई त्यो पतञ्जलीको जग्गा भन्ने थाहा नभएको, मैले डिल्लीध्वज बराईलीसँग किनेको हो। उनी चिनजानको साथी हुन्। निजले के कुन बिधि र प्रक्रियाबाट आफ्नो नाममा कायम गरेको भन्ने मलाई थाहा छैन। मैले वडा कार्यालय, मालपोत कार्यालय मोठ रोक्का हेरी रित पुर्याई खरिद गरेको हो। जग्गाको हदबन्दी, मन्त्रिपरिषदको निर्णय कुनै जानकारी छैन,’ थापाले बयानमा भन्नुभएको छ ।

जग्गा जफत प्रयोजनका लागि प्रमुख थापासहित २८ जना र २ कम्पनीलाई प्रतिवादी बनाएको छ । बाँकी ६३ जनालाई भने बिगो, कैद र जरिवाना मागदाबीसहितका प्रतिवादी बनाइएको छ ।