जनता टाइम्स

२५ जेष्ठ २०८२, आईतवार १९:३५

अखिल महाधिवेशनमा प्रधानमन्त्री ओलीले किन निकाले गुटको कुरा ?


काठमाडौं, जेठ २५ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अनेरास्वबियुको महाधिवेशनको उदघाटन सत्रमै पार्टीभित्र गुटवन्दस् बढेको सार्वजनिक गर्नुभएको छ ।

एमालेमा नर्सरीको रुपमा रहेको बिद्यार्थी संगठन अखिलको महाधिवेशनको उदघाटन सत्रलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै अध्यक्ष ओलीले बिभन्न बहानामा गुटबन्दी बढाउने काम भएको भन्दै त्यसलाई कडा रुपमा जवाफ दिन आग्रह पनि गर्नुभयो ।

झण्डै एक घण्टा सम्बोधन गर्नुभएका अध्यक्ष ओलीले पार्टीका गुटबन्दी बढेको र जनसंगठनका अधिवेशनमा आफ्नो निर्देशनविपरीत चुनाव गर्दै प्यानल खडा गरिएको भन्दै कडा असन्तुष्टि जनाउनु भयो । यस्तै पूर्वराष्ट्रपति बिद्या भण्डारीको नाममा तलतलसम्म गुट बनाउने षडयन्त्र भइरहेको भन्दै उहाँले त्यो काम जरुरी नरहेको बताउनु भयो ।

‘अर्को खेल हुन खोजेको छ यहाँ! अब फलाना आउने रे ! फलाना आउने रे ! यस्तो, यस्तो !,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘पार्टीमा नेतृत्वमा को आउने, कसले निरन्तरता पाउने भनेर कुनै छलफल नै भएको छैन । महाधिवेशन कहिले गर्ने भनेर टुंगो नलागेको, मिति घोषणा नभएको अवस्थामा यस्ता अभिव्यक्ति एमाले कमजोर पार्ने उद्देश्यबाट प्रेरित छन ।’

उहाँले अगाडि थप्नुभयो, ‘पार्टीमा कुनै छलफल नै भएको छैन, को महासचिव, को अध्यक्ष, को उपाध्यक्ष ! अहिले महाधिवेशन घोषणा नै भएको छैन । महाधिवेशनमा के गर्ने सरसल्लाह भएको छैन । छलफल भएको छैन । अनि बाहिर, बाहिरका हल्ला चलाएर, पार्टीलाई कमजोर पार्न खोज्नेरु पार्टी कार्यकर्ताको मनस्थिति बिथोल्न खोज्ने?,’
अध्यक्ष ओलीले यस्ता गतिविधिलाई दुष्प्रयासको संज्ञा दिँदै इन्कार गर्न अखिलका नेताहरुलाई निर्देशन पनि दिनुभयो । ‘यस्ता दुष्प्रयासहरूलाई तपाईंहरूले सोझै इन्कार गर्नुस । यस्ता खालका कुरा नगर्नुस् भनेर त्यस्ताहरूलाई जवाफ दिनुस्। स्ट्याटस, सिस्ट्याटसलाई पनि जवाफ दिएहुन्छ,’ ओलीको भनाई थियो ।

अध्यक्ष ओलीले गुटवन्दीको कुरामा कठोर बन्ने संकेतसहित पार्टीका आन्तरिक कुरा छन् भने पार्टीभित्र राख्न पनि भने। पार्टीलाई खुइल्याउने, होच्याउने गतिविधि सह्य नहुने चेतावनीसमेतदिनुभयो ।

‘पार्टीभन्दा बाहिर गएर फेसबुकबाट अथवा अरू सामाजिक सञ्जालबाट अथवा अरू कुनै इन्टरभ्यु सिन्टरभ्युबाट पार्टीलाई खुइल्याउने, होच्याउने, अपमान गर्ने, त्यस्ता खालका कुरा हुन्छन् भने त्यो पार्टीको आन्तरिक मामिला रहँदैन। बाहिर गएर गरेको हमला पार्टीले त्यसै गरी जवाफ दिन्छ भनेर म जवाफ दिन चाहन्छु। आन्तरिक कुरा आन्तरिक हुन्छ। बाहिर गएर ढुंगा हानेपछि त्यो आन्तरिक रहँदैन। सहँदासहँदा हामी हैरान भएका छौं,’ अध्यक्ष ओलीको निर्देशन थियो ।