जनता टाइम्स

२८ जेष्ठ २०८२, बुधबार २२:३९

अनेरास्ववियु निर्वाचन : अन्तिम नामावली प्रकाशित, बिहीबार बिहान ८ बजेबाट मतदान (नामावली सहित)


काठमाडौं, २८ जेठ । अनेरास्वियुको २४ औँ महाधिवेशनबाट नेतृत्व चयनको लागि उम्मेदवारी दिनेहरूको अन्तिम नामावली प्रकाशित भएको छ ।

उम्मेदवारहरूको अन्तिम नामावली आज राति प्रकाशित भएको हो । नेतृत्व चयनको लागि भोली बिहान ८ बजेबाट मतदान हुने भएको छ ।

विद्युतीय मेसिनबाट मतदान हुने भएकोले भोलि नै अन्तिम मत परिणाम आउने अध्यक्ष मण्डलका सदस्य माधव ढुङ्गेलले जानकारी दिनुभयो ।

निर्वाचन कमिटीका अनुसार अध्यक्षका लागि डा.सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको छ । खुल्ला उपाध्यक्षको लागि चार जनाको उम्मेदवारी परेको छ । खुल्ला उपाध्यक्षमा गणेशबहादुर साही, भरतसिंह धामी लिपुलेक, राजकुमार ढकाल र विकास श्रेष्ठको उम्मेदवारी कायम रहेको छ ।

त्यस्तै महिला उपाध्यक्षमा पनि चार जनाको उम्मेदवारी परेको छ । जसमा अञ्जना सिवाकोटी, आरती भट्टराई, भवानी बजगाईँ र सुजिता धितालको उम्मेदवारी परेको छ ।

महासचिवमा आरके रोमस, दीपक धामी, र सुनिल कँडेलको उम्मेदवारी परेको छ ।

उपमहासचिवमा अमरबहादुर शाही, कमल जोशी र प्रेमिका शाहीको उम्मेदवारी परेको छ ।

सचिवको लागि  ३५ जनाको उम्मेदवारी कायम रहेको छ ।

महाधिवेशनमा १ हजार ५ सय ३४ प्रतिनिधि छन् ।

अधिवेशनको हलले १ सय ५१ सदस्सीय केन्द्रीय कमिटी, ९ जना पदाधिकारी र ३२ वर्षे उमेर हदलाई अनुमोदन गरिसकेको छ ।

यसै गरी यस अघिका आयोगमा एउटा आयोग थप गरी अनुशासन, लेखा र नीति तथा अनुगमन आयोग बनाइने भएको छ । नीति तथा अनुगमन आयोग यो महाधिवेशनबाट थप भएको हो । आयोग पदाधिकारी सहित १३ सदस्सीय हुने भएका छन् । जसमा प्रमुख, उपप्रमुख र सचिव पदाधिकारी हुने छन् ।

अनेरास्ववियुको सचिवालय ४९ सदस्सीय हुने भएको छ । सचिवालय सदस्य पनि हलले नै चुन्ने भएको छ । केन्द्रीय सदस्य प्रदेश क्लष्टरबाट चुनिने छन् ।