जनता टाइम्स

२ असार २०८२, सोमबार ११:२४

इजरायली आक्रमणमा इरानी सेनाको गुप्तचर प्रमुखको मृत्यु


तेहरान ,२ असार। इरानको सरकारी सञ्चारमाध्यमका अनुसार, इस्लामिक रिभोलुसनरी गाड्र्स कोप्र्स (आईआरजीसी)को गुप्तचर एकाइका प्रमुख मोहम्मद काजेमीको आइतबार मृत्यु भएको छ । आईआरजीसीसँग सम्बन्धित तस्निम समाचार एजेन्सी र इरानको सरकारी टिभीले काजेमी बाहेक उनका डिप्टी हसन मोहकेक र कमान्डर मोहसिन बाकेरी पनि इजरायली आक्रमणमा मारिएको बताएका छन् ।

यसअघि, फक्स न्युजलाई दिएको एक अन्तरवार्तामा, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भनेका थिए, ‘म तपाईंलाई भन्न सक्छु कि हामीले इरानको गुप्तचर प्रमुख र उनका डिप्टीलाई मारेका छौँ ।’ शुक्रबारदेखि अहिलेसम्म इजरायली आक्रमणमा २२४ जनाको मृत्यु भएको इरानको स्वास्थ्य मन्त्रालयले भनेको थियो । यो आक्रमणपछि इरानले इजरायलमाथि आक्रमण गरेको थियो ।

यी आक्रमणहरूमा १० भन्दा बढी व्यक्ति घाइते भएको इजरायलको आपतकालीन सेवाले बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनीको हत्या गर्ने इजरायली योजनालाई भिटो लगाएको अमेरिकी अधिकारीहरूले सीबीएस न्युजलाई बताएका थिए ।