जनता टाइम्स

२९ जेष्ठ २०८२, बिहीबार २०:१६

एयर इण्डियाको जहाज दुर्घटना : २४१ जनाले ज्यान गुमाउँदा भाग्यले बचे विश्वासकुमार 


काठमाडौं, २९ जेठ । भारतको अहमदाबादमा बिहीबार भएको एयर इण्डियाको विमान दुर्घटनामा २ सय ४१ जनाले ज्यान गुमाउँदा पनि एक जना यात्री बाँच्न सफल भएका छन् ।

दुर्घटनाग्रस्त विमानमा सवार एक व्यक्तिको जीवितै उद्धार गरिएको अधिकारीहरूले जनाएका छन् । अहमदावाद प्रहरी आयुक्तका अनुसार घाइतेको अहिले अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा जीवित रहेका व्यक्ति ४० वर्षीय विश्वास कुमार रमेश रहेको बताइएको छ । उनको छाती, आँखा र खुट्टामा चोट लागेको छ । भारतमा आफन्त भेट्न आएका उनी दाजु अजयकुमार रमेशसँग बेलायत फर्किँदै दिए ।

अहमदाबादबाट बेलायतको राजधानी लण्डनको ग्याटविकका लागि उडेको एयर इण्डियाको विमान उडेको केही मिनेटमै दुर्घटनाग्रस्त भएको थियो । विमानस्थल नजिकै रहेको चिकित्सकहरूको आवासीय क्षेत्रमा विमान खस्दा भवनमा भएका मानिसहरू समेत गम्भीर घाइते भएका थिए ।

भारतीय अधिकारीहरूका अनुसार, दुर्घटनाग्रस्त विमानमा ११ बालबालिकासहित २ सय ४२ जना यात्रु सवार थिए । तीमध्ये १ सय ६० जना भारतीय, ५३ जना बेलायती, ७ जना पोर्चुगिज र १ जना क्यानेडियन रहेको एयर इण्डियाले जनाएको छ ।