काठमाडौं, ३ जेठ। एक महिला डाक्टर माथि अभद्र व्यवहार गरेको आरोप लागेपछि २४ घण्टे लगाएर मन्त्रालय झिकाएपछि सोमबार विभिन्न व्यक्तिलाई आरोप लगाउँदै सामाजिक सञ्जाल फेसबुकमा अल बिदा लेखेका डाक्टर केशव श्रेष्ठ शक्ति केन्द्रमा धाउन लाग्नु भएको छ ।
सोमबार सामाजिक सञ्जालमा आफूले जीवनसँग हारेको र आफ्नो लास माथि राजनीति नगर्न लेखेर मोबाइल स्विच अफ गरेका डा. श्रेष्ठलाई प्रहरीले खोजीको क्रममा काठमाडौंको एउटा क्याफेमा साथीहरूसँग कफि खाइरहेको अवस्थामा फेला पारेको थियो । त्यहाँबाट प्रहरीले नियन्त्रणमा लिएको श्रेष्ठलाई परिवारको जिम्मा लगाएको थियो ।
रामेछाप अस्पतालबाट हटौँडा अस्पताल सरुवा गरिएका श्रेष्ठलाई जेठ २८ गते २४ घण्टा भित्र हाजिर हुन वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयले पत्र काटेको थियो । रामेछाप अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट रहेका आठौँ तहका डाक्टर श्रेष्ठ २५ महिनादेखि रामेछाप अस्पतालमा कार्यरत हुनुहुन्थ्यो भने १८ महिनादेखि निमित्त कार्यालय प्रमुख हुनुहुन्थ्यो ।
अस्पतालमा प्रमुख भएका आएका नवौँ तहका मेडिकल अधिकृतलाई स्थानीय प्रयोग गरी हाजिर समेत हुन नदिएर गुण्डागर्दी गर्दै आएका डा. श्रेष्ठ अहिले आफैँ गुण्डाहरुले आफूलाई धम्क्याए भन्दै शक्ति केन्द्रमा धाउन लाग्नु भएको छ । अहिले डा. श्रेष्ठले जसलाई गुण्डाको आरोप लगाइरहनु भएको छ, सिनियर डाक्टरलाई रोक्न उहाँले तिनै मानिसहरू लगायतको सहयोग लिनु भएको थियो ।
हेटौँडा अस्पताल सरुवा गरिएका श्रेष्ठलाई आफ्नै कर्मचारी माथि अमर्यादित व्यवहार गरेको उजुरी परेको कारण प्रदेश स्वास्थ्य मन्त्रालयले मन्त्रालयमा नै हाजिर गराएको थियो । रामेछापबाट अस्पतालको अति संवेदनशील डाइलासिस सेवा समेत प्रभावित हुने गरी आफ्ना पक्षका डाक्टर सहित दलबल लिएर कार्यालयको गाडी सहित श्रेष्ठ हाजिर हुन प्रदेश मन्त्रालय पुग्नु भएको थियो । मन्त्रालयले आफ्नो गाडी खोसेर अलपत्र पारेको आरोप फेसबुक स्ट्याटसमा श्रेष्ठले लगाउनुभएको छ ।
रामेछाप अस्पतालमा पुनः निमित्त कार्यालय प्रमुख भएर फर्कने वातावरण नबनेपछि काठमाडौं आउनु भएका डाक्टर श्रेष्ठले सोमबार सामाजिक सञ्जाल फेसबुकमा सुसाइड नोट लेखेर मोबाइल अफ गर्नुभएको थियो । त्यस पछि खोजीको क्रममा प्रहरीले कफि खाइरहेको अवस्थामा प्रहरीले उहाँलाई फेला पारेको थियो ।
तिनै डाक्टर केशव श्रेष्ठ मंगलबार बिहानदेखि नै शक्तिकेन्द्रमा धाउन लाग्नु भएको छ । उहाँले आफ्ना सहयोगीका साथमा मंगलबार बिहानै गृह मन्त्री रमेश लेखकलाई भेटेर आफू कांग्रेस भएको कारण टार्गेट बनाइएको गुनासो गर्नुभएको छ । उहाँले जसले आफूलाई टार्गेट बनायो, धम्क्यायो भनेर फेसबुकमा लेख्नु भएको छ उहाँ नै नेपाली कांग्रेस रामेछापको उपसभापति तथा पूर्व वडाध्यक्ष हुनुहुन्छ । पूर्व वडाध्यक्ष केदार कार्की गुण्डा भएको श्रेष्ठको आरोप छ ।
आफू कांग्रेस भएको प्रमाणित गर्न श्रेष्ठले आफूलाई अस्पतालमा कार्यरत डाक्टर पूर्वसांसद श्याम श्रेष्ठकी छोरी लगायतले अप्ठेरो पारेको पोल गृह मन्त्रीलाई लगाउन पनि भ्याउनु भएको छ । उहाँले वाग्मती प्रदेशका १३ वटा अस्पताल मध्ये आफू एक मात्र अस्पताल प्रमुख कांग्रेसको डाक्टर भएको दाबी समेत गृह मन्त्रीसँग गर्नुभएको छ । त्यसैले आफू पहिला देखिनै टार्गेट भएको उहाँले सुनाउनुभयो । ‘पोष्टिङ रोकिदा पनि यहाँबाटै फोन गराएको हो प्रमुख सचिव गोविन्द कार्कीलाई, १३ वटा वागमतीका अस्पतालमध्ये म एउटा मात्रै हो डेमोक्रेट डाक्टर कार्यालय प्रमुख भएको, एमालेको मन्त्री, एमालेको सचिव त्यो पनि होल्ड गरेर यताबाट गराएको हो, म टार्गेट लिस्टमै थिएँ’, श्रेष्ठले गृह मन्त्रीसँग भन्नुभयो ।
त्यस बेला पनि आफ्नो नियुक्ति रोक्ने प्रयास भएका भन्दै कांग्रेस नेताहरूले फोन गरेर आफूले नियुक्ति पाएको उहाँले बताउनुभयो । आफूले कांग्रेसको राजनीति गरेको बताउने श्रेष्ठ अन्य दुई तीन जना डाक्टरले भने अस्पतालमा राजनीति गरेको पोल गृह मन्त्रीलाई लगाउन भ्याउनु भयो । ‘त्यहाँ एक दुई जना डाक्टर छन् कार्यकक्षमा नबस्ने,राजनीति मात्रै गर्ने, माओवादीको एक जना पूर्व सांसदकी छोरी टेण्डर डाक्टर छिन्, करारकी,आफ्नो बाउको जस्तै ठान्ने’, उहाँले भन्नुभयो ।
डा. श्रेष्ठले नियमित सहयोग लिँदै आएका कांग्रेसका स्थानीय नेता माथि आफूलाई धम्क्याएकाे आरोप लगाउनुभएकाे छ। ‘केदार कार्की भन्ने छ त्यहाँको गुण्डा, पहिला वडाध्यक्ष थियो नेपाली कांग्रेसबाटै, पछि धेरै गुण्डागर्दी गर्यो भनेर टिकट नदिएको पार्टीले, उसको जागिर केही छैन,खाली पैसा माग्ने, करारमा मान्छे राख्दे भनेर दबाब दिने ।’
अस्पतालमा कार्यालय सहयोगी कांग्रेसकै मानिसहरू राखेर आफूले कांग्रेसलाई गुन लगाएको श्रेष्ठले गृह मन्त्रीलाई सुनाउनुभयो । ‘उसले ५० हजार माग्यो मैले दिइनँ, मेरो मान्छे कार्यालय सहयोगी राखिदे भन्यो, मैले मेयर लबश्री न्यौपाने उहाँ पनि कांग्रेसकै हुनुहुन्छ,उहाँको मान्छे राख्छु तपाईँको ६/७ जना राखिसकेँ भनेका थिएँ, तर उसले ५० हजार माग्यो, मैल नदिएपछि धम्की दिन थाल्यो’, श्रेष्ठको गृह मन्त्रीलाई पोल थियो ।
अरूले राजनीति गर्यो भन्ने आफू भने खुल्ला राजनीति गर्ने । आफ्नो योजना सफल नभएपछि मन्त्रालयका कर्मचारीदेखि नगरपालिका प्रमुखसम्मलाई आरोप लगाउने र पोल्ने यी कस्ता डाक्टर हुन् । यिनले बिरामीको उपचार गर्छन् कि किर्ते, काइते र राजनीति गर्ने हुन् ।
प्रतिक्रिया दिनुहोस्