काठमाडौं, ३ असार । विदेशमा आर्जन गरिएको ज्ञान र अनुभव स्वदेशको सेवा र विकासमा लगाउन प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहपछि अमेरिका फर्किएका वैज्ञानिक मिङ्मार शेर्पाले आज प्रधानमन्त्रीसँग भेट गरेका छन्।
मासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) मा वैज्ञानिक अनुसन्धानमा संलग्न रहनुभएका शेर्पा तीन महिनाअघि नेपाल फर्किएर जनस्वास्थ्यसम्बन्धी परियोजना सञ्चालन गर्दै आउनुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उहाँले हाल सञ्चालन भइरहेको अनुसन्धान परियोजनाबारे जानकारी गराउनुभएको हो।
गत वर्ष संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री ओलीले हार्वर्ड विश्वविद्यालयमा अध्ययन तथा अध्यापनमा संलग्न नेपालीहरूलाई सम्बोधन गर्दै आफूले पाएको ज्ञान र सीप स्वदेशमा प्रयोग गर्न आग्रह गर्नुभएको थियो। उहाँले त्यसका लागि सरकारको तर्फबाट आवश्यक सबै प्रकारका सहजीकरण हुने विश्वाससमेत दिलाउनुभएको थियो।
स्वदेश फर्किएपछि प्रधानमन्त्रीले हार्वर्डमा भेट भएका सम्पूर्ण नेपाली विद्यार्थी र शिक्षकलाई पत्र लेखी मातृभूमिको समृद्धिका लागि आ–आफ्नो क्षेत्रमा योगदान गर्न आह्वान गर्नुभएको थियो। यही आग्रहबाट प्रेरित भई शेर्पाले बेलायतको ब्रिस्टल विश्वविद्यालयको सहकार्यमा ‘ब्राइट भिजन फाउन्डेशन’ स्थापना गरी नेपालमा रु १० करोड बराबरको जनस्वास्थ्यसम्बन्धी अनुसन्धान परियोजना सञ्चालन गर्नुभएको हो।
पाँच वर्षे यो परियोजना नसर्ने रोगहरूको अवस्था, उपचारको पहुँच र पोषण सुधारमा केन्द्रित छ। परियोजना नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँगको सहकार्यमा अगाडि बढाइने जनाइएको छ।
फाउन्डेशनले सोलुखुम्बुमा हालसम्म १७ सय नागरिकलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ। साथै, ग्रामीण क्षेत्रमा सूचना प्रविधिको पहुँच बढाउने उद्देश्यले ‘ब्राइट फ्युचर कम्प्युटर सेन्टर’ मार्फत निःशुल्क तालिमसमेत सञ्चालन गरिएको छ।
हार्वर्ड विश्वविद्यालयमा इम्युनोलोजी विषयमा छात्रवृत्तिमा अध्ययन पूरा गर्नुभएका शेर्पाले प्रधानमन्त्रीसँगको भेटमा नेपालमा अनुसन्धानको अवस्था सुधारका लागि केही सुझाव पनि प्रस्तुत गर्नुभयो। उहाँले अनुसन्धान क्षेत्रमा कम्तीमा एक प्रतिशत बजेट विनियोजन गर्नुपर्ने र नेपाली वैज्ञानिक जर्नललाई अन्तर्राष्ट्रिय मान्यतासहित सबल बनाइनु आवश्यक रहेको उल्लेख गर्नुभयो।
प्रधानमन्त्री ओलीले विदेशमा उच्च शिक्षा हासिल गरी स्वदेश फर्किएर योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएका शेर्पाप्रति आभार प्रकट गर्दै उज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो। उहाँका अनुसार युवा वैज्ञानिकहरूको सक्रियता मुलुकको समृद्धिको दिशामा सकारात्मक मार्गदर्शन बन्न सक्छ।
प्रतिक्रिया दिनुहोस्