काठमाडौं, ४ असार । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ।
बुधबार न्यायाधीश ऋषिराज भण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले पाण्डेलाई निलम्बन गर्ने निर्णयमाथि अन्तरिम आदेश जारी गर्दै उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो।
‘२०८२ साल जेठ २० गतेको निलम्बनसम्बन्धी पत्र कार्यान्वयन नगरी पाण्डेलाई यथास्थितिमा राखी, निजलाई निजको पदमा रही कामकाज गर्न दिनू/दिलाउनू भनी उच्च अदालत नियमावली, नियम ४२ (१) अनुसार विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गरिएको छ,’ आदेशमा उल्लेख छ।
यसअघि काठमाडौं महानगरपालिकाले पाण्डेलाई जेठ २० गतेको निर्णयमार्फत निलम्बन गरेको थियो। सो निर्णयविरुद्ध पाण्डेले उच्च अदालतमा रिट दायर गर्नुभएको थियो । अदालतको आदेशसँगै अब पाण्डेलाई पुनः आफ्नो पदमा फर्किएर काम गर्न पाउने बाटो खुलेको छ।
प्रतिक्रिया दिनुहोस्