काठमाडौं, ५ असार । अमेरिकाले इरान र इजरायलबीचको आक्रमणमा आफ्नो संलग्नताबारे सोचिरहेको बताइरहँदा दुई देशले एकअर्कामाथि आक्रमण बढाएका छन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संलग्नताको इच्छा देखाए पनि यसबारे पुष्टि नगरेको अवस्थामा इरान र इजरायलले गएराति पनि एकअर्कामाथि आक्रमण गरेका बीबीसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपतिले आफूले चाल्ने कदमबारे कसैलाई जानकारी नभएको तर आक्रमण तीव्र भइरहँदा इरानलाई धेरै समस्या भएकोबारे भने आफूले आँकलन गर्न सक्ने बताउनुभयो ।इरानकै सहजताका लागि भए पनि आफूले वार्तामा जोड दिएको उहाँको भनाइ छ । तर इरानले अमेरिका र इजरायल सामु कहिल्यै नझुक्ने र युद्ध विराम असम्भव रहेको अडान लिइरहेको छ ।
यसअघि इरानका सर्वोच्च नेताले ट्रम्पलाई इजरायली आक्रमणमा अमेरिका सामेल भएमा अपूरणीय क्षति हुने चेतावनी दिएका थिए ।यसैबीच, पछिल्लो तीन दिनमा कम्तीमा ३० अमेरिकी सैन्य विमानहरू अमेरिकाबाट युरोपमा सारिएका छन् । विमानहरू सबै अमेरिकी सैन्य ट्याङ्कर विमानहरू हुन् जुन लडाकु जेट र बमवर्षकहरूलाई इन्धन भर्न प्रयोग गरिन्छ ।
इजरायलले गएको शुक्रवार इरानको आणविक क्षेत्रमा आक्रमण गरेपछि इजरायल र इरानबीच शुरू भएको द्वन्दको समयमा अमेरिकी उडानहरु युरोप पुगेपछि यसबारे प्रश्न उठेको छ ।
प्रतिक्रिया दिनुहोस्