नेपालमा देश बनाउने भिजन एमाले र कांग्रेसकै नेताहरूमा छ र नेताको भिजनलाई कार्यरुप दिन जनताले प्रदर्शन गर्ने योग्यतामा सुधार आउनेवित्तिकै आज देखिएका ‘सेटिङ’हरू स्थायित्व, सुशासन र समृध्दिका रिसेटिङमा परिणत हुनेछन्।
निर्मल भट्टराई
नेपाली सङ्घीय लोकतन्त्रले विस्तारै आफूलाई मजबुत बनाउँदै लगेको छ । बितेको एक-डेढ दशकमा नेपाली जनताको महान त्याग, तपस्या र तुमुलकारी आन्दोलनको बलमा स्थापित यो लोकतन्त्रले ठूल्ठूला चुनौति र अप्ठ्यारासँग लड्नु पर्यो । सबै परिवर्तनको बाहक आफूलाई ठान्ने माओवादी शक्तिले जति नै डिरेल गर्न खोजे पनि नेपाली कांग्रेस र एमालेको सुझबुझ र आपसी समझदारीका कारण नेपाली लोकतन्त्रले सही ट्र्याक समातेको कहीं कतै छिपेको छैन । परिवर्तनको एउटा शक्ति भएर पनि माओवादीका जातीय सङ्घीयतासम्बन्धी अजेन्डा, उग्रवादी सोच र कार्यशैली तथा ‘शक्ति कि बन्दुकमा हुन्छ, कि पैसामा’ भन्ने सुप्रिमो प्रचण्डको बुझाइ देशको लोकतन्त्रका लागि ठूलै चुनौति थिए ।
देशको शक्ति सन्तुलन, संविधानले व्यवस्था गरेको संसदमा प्रतिनिधित्वको व्यवस्था र आमचुनावमा जनताको निर्णय क्षमता आदि कारणले निरन्तरको हङ पार्लियमेन्ट पनि नेपाली लोकतन्त्रको समस्या हो । केही अपवादवाहेक देशले शक्तिशाली, भिजनरी र कम्तिमा पाँच वर्ष टिक्ने सरकार पाउन सकेको छैन । सबैलाई अवगतै छ, हङ पार्लियमेन्टमा सरकार बन्नै गाह्रो, बल्ल बल्ल बनेको सरकार टिक्नै गाह्रो हुन्छ । नेपालले लामो समयदेखि यही नियति भोग्दै आएको छ । कोही मिलेर सरकार बनाउने, मिल्न नसक्नेहरू ‘ढल्यो, ढल्यो’ भनेर कराउँदै हिड्ने घनचक्कर चलिरहेकै छ ।
उग्रवादी पृष्ठभुमिबाट आएको माओवादी आफ्नै गलत अजेन्डाको कारण,विभाजन र विखण्डनको कारण व्यवस्थापन गर्न सकिने सानो साइजमा पुग्दा नपुग्दा अराजकतावादीहरूले झण्डै माओवादीको हाराहारीको शक्ति लिएर संसद छिरेपछि नेपाली लोकतन्त्रलाई फेरि अलिअलि शूल हुने नै भयो । ‘राज्यको मृत्युको कारण के हो? भन्ने यक्षको प्रश्नमा युधिष्ठिरले एक शब्दमा जवाफ दिएका थिए-‘अराजकता’। नेपालमा पनि अराजकतावादीहरूले नेपाली लोकतन्त्रको पर्याय बनेका पुराना स्थापित दलहरूलाई विज्ञान-प्रविधिको प्रयोगमार्फत् चौतर्फी आक्रमण गर्दै आफ्नो यात्रा तय गरेका थिए । तर ती अराजकतावादी अभियानमा मुख्य नेतृत्वकर्ता नै वैयक्तिक र चारित्रिक समस्यामा परेपछि हाल त्यो ‘आन्दोलन’ केही मुर्झाएको अवस्थामा, प्रतिरक्षात्मक अवस्थामा पुगेको छ । अझै पनि उनीहरूको सदन र सडकमा वितण्डा जारी नै छ ।
नेपाली लोकतन्त्रले जनताको असीमित आवश्यकता र चाहनालाई एकैपटक सम्बोधन गर्न नसकेको कारण जनताको केही तप्कामा निराशा छाएको मौका छोपी, पुराना स्थापित दल खास गरी एमाले र कांग्रेस कमजोर भएभन्ने भ्रमका बीच राजावादी-प्रतिगामी शक्तिले ‘राजा फर्काउने’ असफल आन्दोलन पनि यसैबीच सञ्चालन भयो । नेपाली लोकतन्त्र आन्दोलनको नाममा उनीहरूले चलाएको विध्वंश बेलैमा नियन्त्रण गर्न सफल भयो ।
गएको केही वर्षमा राज्य सञ्चालनमा संलग्न केही व्यक्तिहरूका नियत वा कमजोरीको कारण सुन तस्करी प्रकरण, भुटानी शरणार्थी प्रकरण, सहकारी ठगी प्रकरण र भिजिट भिजा प्रकरणजस्ता नेपाली लोकतन्त्रले बेहोर्यो । यी प्रकरणलाई राजावादी, अराजकतावादी र उग्र वामपन्थीहरूले एमाले र कांग्रेसको तेजोबध गर्न अमोघ अस्त्रको रूपमा प्रयोग गरे, गरिरहेका छन् । हाल सत्ताबाट बाहिर रहेका यी तीनै शक्तिले एकै मुखले सत्ता साझेदारी गरिरहेका कांग्रेस-एमालेलाई ‘विचौलियाको सेटिङमा काम गरिरहेको’ आरोप लगाइ रहेछन् ।
माओवादीको विश्वसनीयतामा व्यापक गिरावट आएको, सहकारी ठगीमा रास्वपा सुप्रिमो रविको संलग्नता अदालतमा विचाराधीन रहेको र विध्वंशकारी राजावादीहरू जेलको हावा खाइरहेको बेलामा पनि उनीहरू एमाले-कांग्रेसलाई भए-नभएका गालीको बौछार गर्न छोडेका छैनन् । आफ्नो कमजोरी वा बदमासी छोप्न अरूलाई गाली गर्ने राजनीतिको निकृष्ट तरिका उनीहरूले अबलम्वन गरिरहेका छन् ।
जे भए पनि नेपाली लोकतन्त्रलाई अब सानातिना हुरी हुण्डरीले केही गर्न सक्दैन भन्ने प्रमाणित भइसकेको छ । लोकतन्त्रले आफूभित्रका कमी कमजोरी आफैं सुधार्ने क्षमता राख्ने भएकोले त्यसमा कसैले अरण्यरोदन गर्दैमा केही हुनेवाला छैन । सिंगापुरका निर्माता लिक्वान युले आफ्नो तीसवर्षे लामो प्रधानमन्त्रित्वबाट निवृत्त भएपछि पत्रकारले उनलाई सोधे-‘देश बनाउने मुख्य दुई कुरा के रहेछन् ?’ उत्तरमा लीले भने-‘ भिजन अफ द लिडर एन्ड क्वालिटी अफ द पिपुल’।
नेपालमा देश बनाउने भिजन एमाले र कांग्रेसकै नेताहरूमा छ र नेताको भिजनलाई कार्यरुप दिन जनताले प्रदर्शन गर्ने योग्यतामा सुधार आउनेवित्तिकै आज देखिएका ‘सेटिङ’हरू स्थायित्व, सुशासन र समृध्दिका रिसेटिङमा परिणत हुनेछन्।
प्रतिक्रिया दिनुहोस्