जनता टाइम्स

६ असार २०८२, शुक्रबार १२:४३

माओवादीको अवरोधपछि गण्डकी प्रदेशसभा बैठक ३० मिनेटका लागि स्थगित


पोखरा ,६ असार । नेकपा माओवादी केन्द्रको अवरोधपछि गण्डकी प्रदेशसभा बैठक स्थगित भएको छ ।  बैठक  ३० मिनेटका लागि स्थगित भएको हो । त्यसअघि माओवादीले संसद् अवरोध गरेको थियो । बजेटमा जनयुद्धका घाइते, अपाङ्गता भएका, सहिद तथा बेपत्ताको विषयमा सरकार गम्भीर नभएको भन्दै सो पार्टीले संसद् रोकेको थियो । ‘हाम्रो दलको नेताले विशेष समय मागेर, हामीले पनि निरन्तर केही विषयको उठान गर्‍यौँ ।

अर्थमन्त्रीको जवाफ सम्म आइपुग्दा सरकारले हाम्रा कुरालाई गम्भीरताका साथ लिने छ र सम्बोधन गर्नेछ भन्ने लागेको थियो,’ पूर्वमन्त्री समेत रहेका सांसद रेशम जुग्जालीले भने, ‘सहिद, बेपत्ता, घाइते, अपाङ्ग र उहाँहरूको परिवारलाई न त नीति कार्यक्रमले सम्बोधन गर्‍यो, न त बजेट वक्तव्यले । आर्थिक विधेयकले त राज्यबाट पाइने सुविधा समेत कटौती गर्यो । निरन्तर हिसाबले यो कुराहरू राख्दै आयौँ । नीति कार्यक्रममा न्यायिक बजेट वितरणको कुरा गरेको थियो, हामीले रेड बुक हेर्दा कहिँ पनि देखिएन ।’

यस्तै, सडक ऐनमा पास भएअनुसार सडक मर्मतको व्यवस्था नगरिएको माओवादीको आरोप छ । ‘हामीले सडक ऐन पास गर्‍यौँ, ऐनमा सडकमा छुट्टिएको पुँजीगत बजेटको ३ प्रतिशत बजेट मर्मत सम्भारमा राख्ने भनेको थियो,’ उनले अघि भने, ‘त्यसलाई लत्त्याएर ऐनमा पास गरेको कुरा बजेटले बोलेको छैन । अर्थ मन्त्रालयले सम्बोधन नगरेसम्म यो सदन चल्न सक्दैन ।’ माओवादी तर्फका सांसदहरूले जनयुद्धका पीडितहरूले न्याय नपाएको भन्दै रोष्ट्रमबाटै गुनासो पोख्दै आएका थिए ।