जनता टाइम्स

६ असार २०८२, शुक्रबार १४:२७

रास्वपा-राप्रपाको कारण रोकियो सांसदसँग प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम, मन्त्रालयगत बिनियोजनमाथिको छलफल भने रोकिएन


काठमाडौं, असार ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधका कारण प्रधानमन्त्री केपी ओलीसँग शुक्रवार तय गरिएको सांसदको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।

पूर्वनिर्धारित कार्यसूचीअनुसार संसद बैठकमा जानुभएका प्रधानमन्त्री ओली रास्वपा र राप्रपाको अवरोधका कारण प्रश्नोत्तरमा सहभागी हुन पाउनु भएन । प्रधानमन्त्रीलाई बोल्न नदिन दुवै द्यलका सांसदहरु अड्डी कसेर बसेपछि सभामुख देवराज घिमिरेले प्रश्नोत्तरसम्बन्धी कार्यक्रम कार्यसूचीबाट हटाउनु भएको हो ।

प्रश्नोत्तरको कार्यक्रम कार्यसूचीबाट हटाइएपछि प्रधानमन्त्री ओली संसदबाट बाहिरिनु भयो । सोही बेलासञ्चारकर्मीले ‘आज संसदमा तपाइँले नै बोल्न पाउनु भएन हैन ?’ भन्दै प्रश्न गरे । जवाफमा प्रधानमन्त्री ओलीले हलबाहिर रहेका सञ्चारकर्मीलाई मजाक शैलीमा उल्टै प्रश्न गर्नुभयो, ‘मज्जा लाग्यो ?’

शुक्रवार संसदमा प्रश्नोत्तरबाहेक ६ वटा मन्त्रालयको विनियोजनमाथि छलफलको कार्यसूची रहेको थियो । त्यसमध्ये युवा तथा खेलकुद एवं महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका मन्त्री उपस्थित नभएकोले सो समेत कार्यसूचीबाट हटाइयो । अहिले भौतिक पूर्वाधार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको कार्यक्रममाथि छलफल हुँदैछ । प्रधानमन्त्रीलाई आफैले प्रश्न सोध्न पाउने सुबिवधासमेत उपयोग नगरी रास्वपा र राप्रपाका सांसदहरु नारावाजीमा उत्रिए पनि अन्य बिषयमा भने छलफल अघि बढेको छ ।