काठमाडौं, ६ असार । नेकपा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेलले पार्टीभित्रको आन्तरिक एकता मजबुत बनाएर अघि बढ्न सके २०८४ को निर्वाचनमा एमालेलाई एकल बहुमत ल्याउन कठिन नहुने बताउनुभएको छ।
बिहीबार च्यासलमा आयोजित एमाले वाग्मती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ढुङ्गेलले पार्टीका नेता तथा कार्यकर्ताहरू जनताको समस्या बुझ्न मात्रै होइन, समाधान पनि दिन सक्षम हुनुपर्ने बताउनुभयो । ‘हामीले हालसम्म जनताको समस्या सुन्यौँ मात्र, चाहेजस्तो समाधान दिन सकेनौँ’, उहाँले भन्नुभयो, ‘अब समस्या पनि सुनौँ, समाधान पनि दिऔँ।’
जनताले अब आश्वासनभन्दा नतिजा खोज्ने भएकाले परिणाममुखी काम गर्नुपर्नेमा ढुङ्गेलले जोड दिनुभयो । पार्टीका नेता कार्यकर्ताले तीनवटै सरकारसँग समन्वय गरेर नागरिकका समस्या समाधान गर्नुपर्ने उहाँले बताउनुभयो ।
एमाले र काङ्ग्रेसबिच सरकार गठन भएको विषयमा कार्यकर्ता तहमा देखिएको असमझदारी र भ्रम ‘वडा केन्द्रित पार्टी निर्माण अभियानले केही हदसम्म चिर्न सफल भएको उहाँले बताउनुभयो । पार्टीका निर्णय, विचार, कार्यशैली र योजना जनतासम्म पुर्याउने मुख्य माध्यम कार्यकर्ता नै भएको उल्लेख गर्दै उहाँले सूचनाको सही सम्प्रेषणले पार्टीप्रतिको जनविश्वास पुनर्स्थापना गर्न सकिने बताउनुभयो।
वाग्मती प्रदेशमा सञ्चालन गरिएको तीन महिने वडा केन्द्रित पार्टी निर्माण अभियानले उल्लेखनीय उपलब्धि हासिल गरेको उहाँले दाबी गर्नुभयो । ‘लामो समयदेखि पार्टी सदस्यता अद्यावधिक र अभिलेख निर्माणमा माओवादीसँगको पार्टी एकतापछिको अवस्थाले झनै जटिल बनाएको थियो, तर अहिले ती समस्या समाधान भएका छन्’, उहाँले भन्नुभयो ।
ढुङ्गेलले पार्टीका सबै तहका अभिलेख, संरचना र कार्यगत विवरण अद्यावधिक भइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार पार्टीभित्रको संगठनात्मक स्पष्टता आउनु, कार्यकर्ताको भूमिकामा स्पष्टता हुनु र जनस्तरसम्म सूचना प्रवाह गर्न सक्नु हालको मुख्य उपलब्धि हो।
बैठकमा उहाँले आगामी निर्वाचनमा एमालेले वाग्मती प्रदेशका ३३ वटै संघीय निर्वाचन क्षेत्र, ६६ वटै प्रदेश निर्वाचन क्षेत्र तथा १ सय १९ वटै स्थानीय तहमा बहुमत ल्याउने सम्भावना रहेको बताउँदै उहाँले त्यसका लागि पूर्ण एकता र संगठित कामको खाँचो रहेको बताउनुभयो। ‘२०७९ को निर्वाचन वाग्मतीका लागि खासै सुखद रहेन, तर त्यहाँबाट पाठ सिक्दै अब हामीले २०८४ मा एकल बहुमत ल्याउने गरी अघि बढ्नुपर्छ’, उहाँको भनाइ थियो।
बैठक वाग्मती प्रदेश कमिटीका इन्चार्ज डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा सुरु भएको हो । बैठकले प्रदेश, जिल्ला र स्थानीय तहका संगठनात्मक संरचना तथा चुनावी तयारीबारे विस्तृत कार्ययोजना तयार गरिने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्