काठमाडौं, ६ असार । बिपी राजमार्गमा १५ दिनका लागि रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएकाे छ ।
रामेछाप, ६ असार । बिपी राजमार्गमा रातिको समयमा सवारी सञ्चालनमा १५ दिनका लागि रोक लगाइएको छ।
काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको शुक्रबार सिन्धुलीको मूल्कोटमा बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले बेलुका ६ः३० बजेदेखि बिहान ५ बजेसम्म मालवाहक सवारी साधनबाहेक अन्य सबै किसिमका सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ। सो निर्णय आजैबाट कार्यान्वयनमा आउने जनाइएको छ।
सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्माका अनुसार निरन्तर वर्षाका कारण राजमार्गका विभिन्न खण्डहरूमा विशेष गरी काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोटसम्मको खण्डमा पहिरो, चिप्लो सडक र सडक भासिने समस्या देखिएपछि यात्रु तथा चालकहरूको सुरक्षाका लागि यस्तो निर्णय गरिएको हो। ‘राजमार्गका धेरै ठाउँमा पहिरोको जोखिम, चिप्लो सडक र अँध्यारोमा ट्राफिक दुर्घटनाको सम्भावना उच्च भएकाले सावधानी स्वरूप रातिको सवारी सञ्चालन रोकिएको हो’, प्रजिअ शर्माले भन्नुभयो ।
निर्णयअनुसार काठमाडौंबाट बाहिरिने सवारी साधनलाई काभ्रे भञ्ज्याङमै रोकिनेछ भने काठमाडौंतर्फ जाने सवारीलाई सिन्धुलीको खुर्कोटमा रोकिन छ । सुरक्षाका लागि सम्बन्धित स्थानहरूमा ट्राफिक प्रहरी र सुरक्षा निकाय परिचालन गरिने बताइएको छ।
बिपी राजमार्ग राजधानी काठमाडौंलाई तराईसँग जोड्ने महत्त्वपूर्ण मार्ग हो। दैनिक हजारौँ यात्रु तथा मालवाहक गाडीहरू यही राजमार्ग भएर आउजाउ गर्ने गर्दछन्। राजमार्गमा सवारी आवागमन बाक्लो मात्रामा हुने भएकाले यहाँ सानो समस्या हुँदा पनि ठुलो प्रभाव पर्ने गरेको छ।
गएको वर्ष असोजमा आएको बाढीले राजमार्गको रोशी खोलाको आसपासमा ठुलो क्षति पुर्याएको थियो। त्यति बेला सडक बगेर केही दिनसम्म पूर्ण रूपमा अवरुद्ध भएको थियो। अप्ठ्यारो मोड, साँघुरा खण्ड र जोखिमयुक्त सडकका कारण चौकीडाँडा लगायतका क्षेत्रमा दैनिक जसो सवारी दुर्घटना हुने गरेको स्थानीय प्रशासनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्