जनता टाइम्स

७ असार २०८२, शनिबार १५:४७

एमाले कोशी सम्पर्क मञ्चले सञ्चालन गर्याे नेतालाई नै १६ बिषयमा एकवर्षे राजनीतिक प्रशिक्षण


काठमाडौं, असार ७ ।  नेकपा एमाले कोशी काठमाडौं सम्पर्क मञ्चले नेता कार्यकर्तालाई पार्टी,सरकार र समाजका विषयमा आधारभुत ज्ञान दिने उद्धेश्यले प्रशिक्षण दिएको छ ।

प्रदेश र जिल्लाका पदाधिकारी तथा सदस्यहरुलाई अलग अलग विषयहरुमा हरेक शनिवार नियमित प्रशिक्षण सञ्चालन भइरहेको सम्पर्क कमिटीका अध्यक्ष नवराज घिमिरेले जानकारी दिनुभयो ।

घिमिरेका अनुसार प्रदेश तहका नेता कार्यकर्तालाई १६ वटा विषय र जिल्ला तहका कार्यकर्तालाई ४ वटा विषयमा प्रशिक्षण भइरहेको छ । यो प्रशिक्ष्ँण गतवर्ष देखि नियमित सञ्चालन भइरहेको छ । आगामी दुई हप्तामा पहिलो चरणको प्रशिक्षण समापन हुने घिमिरेले जानकारी दिनुभयो ।

हरेक शनिवार च्यासलमा करिब तीन घण्टा यो प्रशिक्षण सञ्चालन हुने गरेको छ । घिमिरेका अनुसार प्रदेश तहका पदाधिकारी तथा सदस्यलाई उपमहासचिव एवं स्कूल विभाग प्रमुख प्रदिप ज्ञवालीले मार्गदर्शन सिद्धान्त माक्र्सवाद र जनताको बहुलीय जनवाद र ऐतिहासिक भौतिकवाद विषयमा प्रशिक्षण दिनुभएको छ ।

स्थायी कमिटी सदस्य डा.राजन भट्टराईले नेपालको भूराजनीति र कुटनीतिक सम्बन्ध बारेमा प्रशिक्षण दिनु भएको छ । यसैगरी पार्टी लेखा आयोगका अध्यक्ष डा.पुष्प कडेलले माक्र्सवादी अर्थशास्त्र र माक्सर्वादी राजनीतिका विषयमा प्रशिक्षण दिनुभएको छ ।

यस्तै मार्गदर्शक सिद्धान्त लेनिनवाद र केपी ओली सरकारका काम भ्रम र यथार्थ विषयमा साँसद ईश्वरी रिजालले प्रशिक्षण दिनुभएको छ । समाजको परिचय र विकासक्रमका बारेमा प्रा.डा. रमेश भट्टराई र प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा पूर्व अर्थमन्त्री युवराज खतिवडाले अर्थतन्त्र र सकारका कामका विषयमा प्रशिक्षण दिनुभएको घिमिरेले जानकारी दिनुभयो ।

यसैगरी प्रचारात्मक कामको महत्व र सूचना प्रविधिका विषयमा स्थायी समितीका सदस्य एवं केन्द्रीय प्रचार बिभाग प्रमुख राजेन्द्र गौतमले प्रशिक्षण दिनुभएको छ । प्रदेश सम्पर्क मञ्च अन्तरगतका १४ वटा जिल्लाका पदाधिारी तथा सदस्यहरुलाई पनि प्रशिक्षण जारी रहेको छ ।

जसमा माक्र्सवाद लेलिनवाद जनताको बहुदलीय जनवादका विषयमा पार्टी उपाध्यक्ष युवराज ज्ञवालीले प्रशिक्षण दिनुभएको छ । केपी ओली सरकारले गरेका काम भ्रम र यर्थाथका बारेमा साँसद इश्वरी रिजालले प्रशिक्षण दिनुभएको छ । यसैगरी सम्पर्क मञ्च विगत वर्तमान यसका निर्देशिका बारेमा केन्द्रीय कमिटी सदस्य नरेन्द्र श्रेष्ठ र निर्वाचन आयोगका सदस्य कृष्ण आङ्दम्बेले प्रशिक्षण दिनुभएको छ ।

प्रशिक्षणमा शुभकामना दिन पुग्नु भएका पार्टीका स्थायी समिती सदस्य तथा सम्पर्क समन्वय कमिटीका इन्चार्ज लालबाबु पण्डितले कोशी प्रदेश सम्पर्क कमिटीले नियमित पार्टी स्कूल सञ्चालन गरेर अनुकरणीय काम गरेको बताउनुभयो ।

उहाँले पार्टीका सबै तहका कार्यकर्तालाई राजनीतिक रुपमा प्रशिक्षित गर्नु जरुरी रहेको तर विविध कारणले छुटिरहेकाहरुलाई सम्पर्क मञ्च मार्फत बिचारको प्रशिक्षण सञ्चालन गरेकोमा धन्यवाद दिनुभएको छ ।