काठमाडौं, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम साहले सदन बहुमतको अंकगगितले मात्र चलाउन नहुने बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले संसद्लाई विवेक र नैतिकताका आधारमा चलाउनु पर्ने बताउनुभयो । लामो समयदेखि संसदमा राजनीतिक नाटक देखाइएको उहाँले आरोप लगाउनुभयो ।
देश हाँक्नेहरूको असफलताले आज लाखौँ युवा विदेश पलायन भएका उहाँको आरोप छ । ‘युवाहरू रोजगारीको खोजीमा मरुभूमिमा पसिना बगाइरहेका छन्, ‘यो उनीहरूको रहर होइन, यो देश हाँक्नेहरूको असफलताले जन्माएको राष्ट्रिय विवशता हो’साहले भन्नुभयो ।
साहले देशमा लुटतन्त्र र संगठित सिण्डिकेटको विकास भएको आरोप लगाउनुभयो । ‘कहिले भुटानी शरणार्थीको भेषमा आफ्नै देशको नागरिक बेच्छ, कहिले ललिता निवास जोगाउनु पर्नेहरूले सरकारी जग्गा पचाउँछन्, क्विन्टलका क्विन्टल सुनलाई ‘बिस्कुट’ भनेर भित्र्याइन्छ, वाइडबडी उडाउने नाममा राज्यको ढुकुटी उडाइन्छ, एयरपोर्ट बनाउने नाममा भ्रष्टाचारको ओलम्पिकमा कीर्तिमान बनाइन्छ’ उहाँले भन्नुभयो ।
उनले पछिल्लो समय उठेको ‘भिजिट भिसा काण्ड’प्रति सरकारले चासो नदेखाएको बताउनुभयो ।सरकार मूकदर्शक बनेर बस्दा देशमा सरकार होइन, सर्कस चलिरहेको उहाँको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्