जनता टाइम्स

८ असार २०८२, आईतवार १६:५७

प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट


काठमाडौँ, ८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले आज प्रधानमन्त्री निवास, बालुवाटारमा भेट्नुभएको छ ।

कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षणलागयत मुद्दा उठाएर गत जेठ ४ गतेदेखि यात्रा सुरु गरेका बोहरा ३१औँ दिनमा यही असार ३ गते काठमाडौँ आइपुग्नुभएको थियो । सोही दिन प्रधानमन्त्री ओलीलाई भेट्न खोजेका बोहराले प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण आज भेट पाउनुुभएको हो ।

बोहराले प्रधानमन्त्री ओलीलाई आफूले अभियान र यात्राका क्रममा देखेका अनुभव, उपचार नपाएका बालबालिका आदिका समस्या र समस्या समाधानका लागि गरिएका पहलबारे अवगत गराउनुभयो ।

प्रधानमन्त्री ओलीले पवित्र भावका साथ अभियान सञ्चालन गर्न सुझाव दिँदै शरीरलाई धेरै दुःख नदिइ आफ्नो स्वास्थ्य र परिवारको पनि ख्याल गरेर अघि बढ्न आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीसँग भेटेपछि बोहराले आफ्ना कुराहरु सुनाउन पाएकामा खुसी व्यक्त गर्दै पहिलो चरणको अभियान पूरा नभएकाले अब जुत्ता लगाउने, दाह्री काटेर नयाँ स्वरुपमा अघि बढ्ने बताउनुभयो ।