जनता टाइम्स

११ असार २०८२, बुधबार १२:२३

एमाले सचिवालय बैठक ३ बजेलाई सर्याे 


काठमाडौं, ११ असार । नेकपा एमालेको सचिवालय बैठक आज केही ढिलो गरी बस्ने भएको छ। यसअघि दिउँसो १ बजेका लागि बोलाइएको बैठक अब अपराह्न ३ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ।

आजको बैठकमा पार्टीको आगामी विधान महाधिवेशनको तयारी र समसामयिक राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल हुने बताइएको छ।

एमालेले यसअघि नै भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा विधान महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। आजको बैठकमा त्यही महाधिवेशनका लागि पेश हुने राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रतिवेदनको प्रारम्भिक मस्यौदा पनि छलफलमा ल्याइनेछ।

विधान महाधिवेशनमा मुख्यत: पार्टीको आन्तरिक संरचना, कार्यकारी पदका लागि उमेर सीमा र कार्यकाल सीमा जस्ता संवेदनशील विषयमा बहस हुने अनुमान गरिएको छ। अहिले पार्टीभित्र ७० वर्षे उमेरहद लागू गर्ने वा नगर्ने र एउटै कार्यकारी पदमा दुई कार्यकालको सीमा रहने कि नरहने भन्ने विषयमा गम्भीर विवाद सुरु भइसकेको छ।

यी विषयहरू पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनको तयारीसँग पनि जोडिएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओली अहिले दुई कार्यकाल पूरा गरिसक्नुभएको छ भने उहाँको उमेर पनि निकट भविष्यमै ७० वर्ष पुग्दै छ। यस्तै, भण्डारी पक्षधर नेताहरू यी दुई प्रावधानलाई विधानमा पुनःस्थापित गराउन कसरत गरिरहेका छन्।

२०८० जेठमा बसेको एमाले सचिवालय बैठकले विधानमा रहेको ७० वर्षे उमेरहद निलम्बन गर्ने निर्णय गरिसकेको थियो। यस्तै, २०६५ को बुटवल महाधिवेशनले एउटै कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने प्रावधान ल्याएको थियो भने २०७१ को काठमाडौं महाधिवेशनबाट ७० वर्षे उमेरहदको व्यवस्था गरिएको थियो।

यति मात्र होइन, आजको बैठकमा ओली नेतृत्वको सरकार गठन भएको एक वर्ष पूरा हुन लागेका सन्दर्भमा सरकारको प्रदर्शनको समीक्षा पनि गर्ने तयारी छ। वर्तमान सरकारको उपलब्धि, कमजोरी र आगामी रणनीतिका विषयमा सचिवालयमा छलफल हुने एमाले नेताहरूले बताएका छन्।