जनता टाइम्स

११ असार २०८२, बुधबार १५:५९

भोजपुरका छ स्थानीय तह पूर्णखोप सुनिश्चित पालिका घोषणा


टक्सार (भोजपुर), ११ असार । जिल्लाका छ वटा स्थानीय तह पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा भएका छन् । जिल्लाका नौ पालिकामध्ये भोजपुर नगरपालिकासहित पाँच गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा भएका हुन् । षडानन्द नगरपालिकाका साथै रामप्रसाद राई र आमचोक गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा हुने चरणमा रहेका जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुख राजु श्रेष्ठले जानकारी दिनुभयो । तीन वटा स्थानीय तहलाई समयमा पूर्णखोप सुनिश्चित पालिका घोषणा गर्न ढिलाइ हुदाँ जिल्लालाई घोषणा गर्न नसकिएको उहाँले बताउनुभयो ।

भोजपुर नगरपालिकाका साथै हतुवागढी, टेम्केमैयुङ, साल्पासिलिछो, अरुण र पौवदुङमा गाउँपालिकाभित्र रहेका सबै लक्षित उमेर समूहका बालबालिकाले नियमित खोप तालिकाअनुसार पूरा खोप सेवा लिएपछि यी स्थानीय तहलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । जिल्ला खोप समन्वय समिति भोजपुरको आज बसेको बैठकले यही असार २३ गते जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गर्ने निर्णय गरेको छ । जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख कमल थुलुङको अध्यक्षतामा बसेको बैठकले बाँकी रहेका तीन पालिका घोषणा भएपछि जिल्लालाई घोषणा गरिने बताउनुभयो ।

बैठकले खोप सेवामा संलग्न रहेका स्वास्थ्यकर्मीहरूलाई पुरस्कृत गर्ने र कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । पछिल्लो समय कोरोना सङ्क्रमण बढदै जान थालेकाले जिल्लामा करिब ३० हजार नागरिकलाई खोप लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । यहाँका पालिकाले माग गरेका आधारमा खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालयका प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । समन्वय समितिका प्रमुख थुलुङले ‘खोज र खोप’ भन्ने अभियानलाई सार्थक बनाउन अभियान सञ्चालन गरिने बताउँदै कोही पनि कुनै खोपबाट छुटन नहुने भन्दै तिालिकाअनुसार नियमित खोप लगाउन सबैलाई आग्रह गर्नुभयो ।