जनता टाइम्स

११ असार २०८२, बुधबार १९:४३

सरकारको एक वर्ष समीक्षाः दुई पार्टीबीचको समझदारी बलियो बन्दै – एमाले


काठमाडौं, ११ असार।  नेकपा एमालेले वर्तमान सरकारको एक वर्ष सन्तोषजनक रहेको समीक्षा गरेको छ । केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले प्रमुख दुई ठूला दल मिलेर बनेको सरकारले सन्तोषजनक काम गरेको समीक्षा गरेको हो । ‘मुलुकमा स्थिरता, अर्थतन्त्रलाई गति र विकास गर्ने उद्देश्यले दुई ठूला पार्टी सहितको सरकार बनेको थियो । यो एक वर्षको समग्र अवस्था सन्तोषजनक रुपमा रहेको निष्कर्ष निकालेको छ,’ उपमहासचिव प्रदीप ज्ञवालीले भन्नुभयो ।

आगामी ३१ असारमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेको वर्षदिन पुग्दैछ । यो वर्षदिनमा सरकारबारे अनेकौं हल्ला चलाइए पनि सफल नभएको एमाले निष्कर्ष छ । ‘सरकारबारे अनेकौं हल्ला चलाइए । तर दुई पार्टीबीचको समझदारी बलियो बन्दै गएको छ । अर्थतन्त्रले लय समाउन थालेको छ’, ज्ञवालीले भन्नुभयो । विरोधका स्वर कमजोर हुँदै गएको र प्रतिगमनका प्रयत्न असफल भएको पनि एमालेको समीक्षा छ । ‘प्रतिगमनका केही प्रयत्न भए । जनताको सजकता र आन्तरिक दलको सक्रियता र सरकारको प्रभावकारिताले ती प्रयास निस्तेज भएका छन्’, ज्ञवालीले भन्नुभयो । यो वर्ष आफ्नै नेतृत्वमा बजेट आएकाले आशा पलाएको पनि उहाँले बताउनुभयो । ‘गत वर्ष अरुले नै बनाएको बजेट र नीति तथा कार्यक्रममा काम गर्नुपर्यो । हाम्रो हात बाँधिएको अवस्था थियो । हामीले मुलुकलाई सही दिशातिर अघि बढाएका छौं’, ज्ञवालीले भन्नुभयो ।