काठमाडौं, १२ असार । ललितपुरको महाँकाल गाउँपालिका–६, ठुलादुर्लुङमा खोल्सामा आएको बाढीले बगाएर सवइञ्जिनियर सविन दाहालको ज्यान गएको छ ।
महाँकाल गाउँपालिका–६ का अध्यक्ष विनोद चौलागाईंका अनुसार बुधबार साँझ ठुलादुर्लुङस्थित भर्याङखोल्सामा आएको बाढीले बगाउँदा महाँकाल–४, कालेश्वर स्थायी घर भई हाल ललितपुर महानगरपालिका–२९, हरिसिद्धी बसोबास गर्दै आएका २१ वर्षीय दाहालको ज्यान गएको हो । उहाँ महाँकाल गाउँपालिकामा सवओभरसियरका रूपमा कार्यरत हुनुहुन्थ्यो ।
साँझ करिब साढे ७ बजे तिरको समयमा आएको बाढीले उहाँलाई बगाएको थियो । बेलुकी करिब १० बजेतिर खोजी गर्दा मृतकको शव फेला परेको हो ।
लगातारको वर्षाका कारण स्थानीय खोल्साहरूमा पानीको बहाव तीव्र भएपछि बाढीको जोखिम उच्च बनेको छ । खोल्सी पार गर्ने क्रममा अचानक बाढी आउँदा दाहाल बग्नुभएको थियो ।
घटनापछि स्थानीय बासिन्दा, प्रहरी तथा सुरक्षाकर्मीहरूले खोजी कार्य थालेका थिए । शव भेटिएपछि घटनास्थलबाट उद्धार गरी थप प्रक्रिया अघि बढाइएको गाउँपालिकाले जनाएको छ ।
दाहालको निधनले गाउँपालिका र स्थानीय प्राविधिक वृत्तमा गहिरो शोक छाएको छ । जोखिमयुक्त भेगमा सेवा दिइरहेका कर्मचारीहरूको सुरक्षामा थप ध्यान दिनुपर्ने आवाज पनि उठ्न थालेको छ । गाउँपालिकाले उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्