जनता टाइम्स

१३ असार २०८२, शुक्रबार ०५:०२

कुन्दनराज काफ्लेको चमत्कार : गण्डकी प्रदेशमा हालिदिए बागमतीको बजेट


हेटौंडा, असार १३ । नेपाली कांग्रेसका बागमती प्रदेश सभा सदस्यहरुले बजेटप्रति असन्तुष्टि जनाउँदै मुख्यमन्त्री बहादुरसिंह लामा र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको चर्को आलोचना गरेका छन् ।

बुधबार राति अबेरसम्म बसेको संसदीय दलको बैठकमा कांग्रेस सांसदहरुले मुख्यमन्त्री लामा र आर्थिक मामिलामन्त्री काफ्लेले आफ्नो जिल्लामा मात्रै बजेट खन्याएको नभइ बिचौलियाको संलग्नतामा अर्काे प्रदेशमा बजेट बिनियोजन गरेको भन्दै चर्काे आलोचना गरेका हुन ।

बैठकमा सहभागी एक नेताले जनताटाइम्स डटकमलाई दिएको जानकारीअनुसार प्रदेशसभा सदस्यहरुले बजेटमा बिचौलिया हाबी भएको र बिचौलियाको स्वार्थअनुसार बजेट बिनियोजन भएको ठोकुवा गरे । ‘बजेटमा बिचौलिया छिरेर स्वार्थअनुसारको बजेट पारे, बजेटमा उनीहरु हाबी भए । तर हाम्रा योजनामा बजेट परेन भनेर माननीयज्यूहरुले कुरा उठाउनु भएको थियो,’ ती सदस्यले भने ।

सांसदहरु बैठकमा छिरिङ दोर्जे लामा, प्रभात तामाङ, श्रीराम लामिछानेलगायततले संसदीय दलको बैठकमा निकै कठोर शब्दसमेत प्रयोग गर्नुभएको छ । बैठकमा बदमासी राख्ने क्रममा सांसदहरुले बागमतीको बजेटमा गण्डकी प्रदेशलाई कसरी गयो भन्दै मन्त्री काफ्लेको सातो लिएको ती सदस्यले बताए ।

बागमती प्रदेशको बजेटमा गण्डकी प्रदेशको पूर्वी नवलपरासीको कावासोती क्षेत्रमा पनि बजेट विनियोजन गरिएको भन्दै सांसदहरुले आपत्ति जनाएका हुन । बजेटको रातो किताबमा पूर्वी नवलपरासीको कावासोती नगरपालिका २ स्थित शिव मावि परिसर र आसपासका क्षेत्रमा पूर्वाधार निर्माण गर्ने उल्लेख छ । यसैगरी हेटौंडा उपमहानगरपालिकामा १९ वटा वडा मात्रै भए पनि वडा नम्बर २० र २२ उल्लेख गरेर बजेट विनियोजन भएको छ । सो बिषयमा पनि सांसदहरुले विरोध जनाएका थिए ।

आफूहरुले दिएको योजनामा बजेट नपरेको तर नदिएको योजनामा बजेट परेको भन्दै उनीहरुले कसको स्वार्थले त्यस्तो भयो भनेर प्रश्न गरेका थिए । यस विषयमा छानबिन गर्नुपर्ने माग पनि उनीहरुले गरेका थिए । टुक्रे योजना समावेश नगर्ने नीति लिँदा पनि धेरै टुक्रे योजना कसरी आयो ? भन्दै सांसदहरुले प्रश्न गरेका थिए । बजेटमा कमिशनका लागि एउटै योजना दोर्याएर समावेश भएको, कार्यक्षेत्र नभएका मन्त्रालयमा बाहिरका योजना पनि परेकाले सांसदहरुले बजेट निर्माणको प्रक्रियामै प्रश्न उठाए ।

ती सदस्यका अनुसार बजेटमाथि सांसदहरुले मात्रै गुनासो राखेनन्, मन्त्रीहरुले पनि आरोपसहितको गुनासो पोखेका थिए । आर्थिक मामिला मन्त्रालयले समयमै सिलिङ नदिएको, कम सिलिङ दिइएको, मन्त्रालयहरुको बजेटमा आर्थिक मामिला मन्त्रालयले खेलेको आरोप मन्त्रीहरुको थियो । बुधबार रातिको संसदीय दलको बैठकमा चर्काचर्की परेपछि विहीबार बिहान पुनः बस्ने गरी बैठक स्थगित गरिएको थियो । तर बिहिवार पनि यही कुरा दोहोरिएको छ भने कांग्रेस सांसदहरु आफ्नै पार्टीका मन्त्री सारै बदमास भयो भन्दै एमालेलाई सहयोग माग्न थालेका छन ।

सांसदहरुका अनुसार दलको बैठकमा मुख्यमन्त्री लामालाई भन्दा पनि आर्थिक मामिला तथा योजनामन्त्री काफ्लेप्रति सांसदहरु रुष्ट बनेका थिए । काफ्लेले आफ्नो गृहजिल्ला दोलखामा बढी बजेट पारेको आरोप असन्तुष्ट सांसदहरुको छ । मन्त्री काफ्लेलाई ‘बागमती प्रदेशमा दोलखा मात्रै जिल्ला छ ?’ भन्दै सांसदहरुले प्रश्न गरेका थिए । उनीहरुको प्रश्न थियो, ‘अर्थमन्त्री भएर अलिअलि बजेट लैजाने स्वभाविक हो । यो त अस्वाभाविक तरिकाले बजेट गएको छ । यो कस्तो बजेट हो ?’