जनता टाइम्स

१३ असार २०८२, शुक्रबार १५:१६

धनुषामा आँप महोत्सव हुँदै


महेन्द्रनगर (धनुषा), १३ असार । धनुषामा दुईदिने आँप महोत्सव आयोजना हुने भएको छ । धनुषाको बटेश्वर गाउँपालिका–१, चित्रपुरमा यही असार १४ र १५ गते चित्रपुर म्याङ्गो एग्रो टुरिजम बोर्डको आयोजनामा ‘चित्रपुर आँप मेला महोत्सव– २०८२’ हुने भएको हो । स्थानीय आँप प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको चित्रपुर म्याङ्गो एग्रो टुरिज्म बोर्डका अध्यक्ष प्रदीप महतोले बताउनुभयो ।

उहाँले चित्रपुरलाई ‘आँप पर्यटन नाका’का रूपमा विकास गर्ने लक्ष्य लिइएको समेत उल्लेख गर्नुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत आँप पकेट जोन घोषणा गरिए पनि किसानहरु बजारीकरण हुन नसकेको बताउँछन् । यहाँ दोस्रोपटक आँप महोत्सव गर्न लागिएको मेला समितिका सदस्य फुलगेन मगहीले बताउनुभयो । मेलामा ४० भन्दा बढी जातका आँप तथा आँपबाट बनेका विभिन्न परिकार जुस, अचारलगायतको प्रदर्शनीमा राखिनेछ ।

मेला घुम्न आउने पर्यटकलाई निःशुल्क आँप खुवाउने, बगैँचामा घुमाउने, रुखबाट आँप छानेर टिप्ने अनुभव दिलाउने र विद्यार्थीलाई विभिन्न जातका आँप चिनाउने कार्यक्रमसमेत समावेश गरिएको अध्यक्ष महतो बताउनुहुन्छ । हाल चित्रपुर क्षेत्रमा ३०० बिघाभन्दा बढी जमिनमा फैलिएको आँपको बगैँचामा उत्पादन हुँदै आएको छ । मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता सरोज चौधरीका अनुसार मधेश प्रदेशले देशको कुल आँप उत्पादनमा ७७.१ प्रतिशत योगदान दिँदै आएको बताउनुभयो ।