काठमाडौं, १३ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सुरक्षालाई लोककल्याणकारी राज्यको अवधारणाका रूपमा अघि बढाउनु पर्ने बताउनुभएको छ ।
७४औँ मदन जयन्तीका सन्दर्भमा शुक्रबार नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीको आयोजनामा सामाजिक सुरक्षा तथा समाज कल्याण विभागको व्यवस्थापनमा आयोजित जबजको आलोकमा सामाजिक सुरक्षा अन्तर्संवाद कार्यक्रममा बोल्दै पोखरेलले नागरिकलाई समस्या परेको बेला राज्य नागरिकको साथमा हुनु पर्ने र नागरिकले सकेको बेला राज्यलाई योगदान गर्नुपर्ने बताउनुभयो । ‘आफूले सक्दा राज्यलाई सहयोग गर्ने र नसकेको बेला राज्य नागरिकको लागि हुनुपर्छ’, उहाँले भन्नुभयो ।
जनताको बहुदलीय जनवाद नेपाली क्रान्तिको मौलिक मान्यता भएको उहाँले बताउनुभयो । आज जनताको बहुदलीय जनवाद नेपाली क्रान्तिको मौलिक सिद्धान्त भएको उहाँले स्पष्ट पार्नुभयो ।
नागरिकले सक्ने बेलामा राज्यलाई योगदान गर्ने र नागरिकलाई अप्ठेरो पर्दा राज्यले सहयोग गर्ने कुराले नै समाजवादी राज्य बन्ने उहाँको धारणा छ । त्यसकै लागि सामाजिक सुरक्षा कोषको कार्यक्रम राज्यले सुरु गरेको उहाँले स्पष्ट पार्नुभयो । ‘जन्मदेखि मृत्युसम्म जनताले नसक्ने बेला राज्य जनताको साथमा, जनताले राज्यलाई योगदान गर्न सक्ने बेलामा जनता राज्यको साथमा, यो नीतिका आधारमा लोककल्याणकारी राज्य निर्माण गर्नु पर्दछ भन्ने मान्यता जनताको बहुदलीय जनवादले स्पष्ट रूपमा राखेको छ’, उहाँले भन्नुभयो ।
राज्य बलियो हुँदा मात्र राज्यले सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्न सक्ने बताउँदै उहाँले यसको लागि सबै क्षेत्रलाई करको दायरामा ल्याउनु पर्नेमा उहाँले जोड दिनुभयो । नेपालमा ठुलो क्षेत्र करको दायरामा आउन नसकेको बताउनुभयो । ‘राज्य बलियो नहुँदासम्म सामाजिक सुरक्षा बलियो हुन सक्दैन’, उहाँले भन्नुभयो ।
राज्यलाई कर छल्ने र योगदान नगर्ने तर राज्यबाट सुविधा मात्र खोज्ने समुदाय नेपालका बढी भएको उहाँले बताउनुभयो । यसले राज्यलाई कमजोर बनाएको उहाँको धारणा छ ।
प्रतिक्रिया दिनुहोस्