काठमाडौं, १४ असार । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० का दक्षिणपूर्वी एशिया क्षेत्रीय निर्देशक साइमा वाजेदबीच भेटवार्ता भएको छ ।
उहाँहरुबीच विश्व स्वास्थ्य सङ्गठनमा नेपालको तर्फबाट प्रस्ताव गरिएको श्रमिकको स्वास्थ्य रक्षाका मुद्दालाई प्रभावकारी बनाउन आवश्यक पहलबारे कुराकानी भएको छ ।
सङ्गठनको कार्यकारी समिति सदस्यसमेत रहेको नेपालले यो मुद्दा आउँदो महासभामा लैजान गृहकार्य गरिरहेको छ ।
थाइल्याण्डको बैंककमा रहेको राष्ट्रसङ्घीय सम्मेलन केन्द्रमा मन्त्री पौडेलले सङ्गठनकी क्षेत्रीय निर्देशक वाजेदसँग नेपालको एजेण्डा र यसमा जुटाउन सकिने विश्व समर्थनबारे कुरा गरेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
जवाफमा निर्देशक वाजेदले नेपालको एजेण्डामा समर्थन जुट्ने विश्वास गर्दै आफ्नोतर्फबाट समन्वयात्मक पहल हुने प्रतिबद्धता जनाउनुभएको छ ।
हालै सम्पन्न विश्व स्वास्थ्य सङ्गठनको महासभापछि नेपालले आउँदो महासभामा नेपाली श्रमिकले भोगिरहेको स्वास्थ्य समस्या सम्बोधन गर्न सबै श्रमिकको स्वास्थ्यको जिम्मेवारी रोजगारदाताले लिनुपर्ने प्रस्ताव पठाएको थियो । जसलाई आउँदो महासभामा नेपालको तर्फबाट पेश गरिनेछ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पौडेलले संयुक्त राष्ट्रसङ्घीय क्षेत्रीय मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै नेपालको डिजिटल स्वास्थ्यका क्षेत्रमा भइरहेका प्रयासबारे विश्व समुदायलाई जानकारी समेत गराउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्