काठमाडौँ, १५ असार । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाल जस्ता भूपरिवेष्टित मुलुकहरूको विकासका लागि क्षेत्रीय सहकार्य आवश्यकपर्नेमा जोड दिनुभएको छ । टर्कीको इस्तानबुलमा आयोजित ‘ग्लोबल ट्रान्सपोर्ट कनेक्टिविटी फोरम’ लाई सम्बोधन गर्दै उहाँले भूपरिवेष्टित मुलुकहरूले पनि समुद्रसम्मको पहुँच स्थापित गर्नुपर्नेमा जोड दिनुभएको हो । समारोहमा ‘भूपरिवेष्टितबाट भूजडित प्रयासमार्फत क्षेत्रीय विकासका रणनीतिक अवसरका’ विषयमा सम्बोधन गर्दै उहाँले भूपरिवेष्टित मुलुकले यातायात पूर्वाधारद्वारा कनेक्टिभिटी कायम गर्न सफल भएमा समुद्री पहुँचसमेत प्राप्त गर्न सकिने धारणा राख्नुभयो ।
“नेपालसहित सबै स्थलगत मुलुकहरूले अन्तरराष्ट्रिय समुदायसँग सहकार्य गर्दै पूर्वाधार विकासमा संलग्न हुनु आवश्यक छ”, मन्त्री दाहालले भन्नुभयो । नेपाल जस्ता भूपरिवेष्टित मुलुकलाई ‘कनेक्टिभिटी’ (सडक सञ्जाल तथा पूर्वाधार) को माध्यमबाट समुद्री पहुँचसम्म पु¥याउन क्षेत्रीय सहकार्यको आवश्यकता मन्त्री दाहालले आवश्यकता औँल्याउनुभयो । भूपरिवेष्टितबाट भूजडित बन्न सडक, रेल र बन्दरगाहमा मात्र नभइ सहकार्य, विश्वास र साझा दृष्टिकोणमा पनि लगानी गर्नुपर्नेमा जोड दिनुभएको मन्त्री दाहालको सचिवालयले जनाएको छ । सम्बोधनका क्रममा उहाँले छिमेकी मुलुकहरूसँग जोड्ने रणनीतिक करिडोरलाई प्राथमिकता दिइएको बताउनुभयो ।
नेपाल बाढीपहिरो, भूकम्पलगायत प्राकृतिक विपद्मा संवेदनशीलमुलुक रहेको उल्लेख गर्दै मन्त्री दाहालले हिमाल, पहाड, चुरे भावर, तराई जस्ता विशिष्ट भौगोलिक अवस्था हुँदाहुँदै पनि कमजोर माटो र मिश्रित चट्टानी संरचना भएकाले जोखिम उच्च रहेको बताउनुभएको थियो । हिमाली क्षेत्रका हिउँदे नदी तीव्र गतिमा बग्ने, पहाडी क्षेत्रमा बेगवान हुने र तराईमा आइपुग्दा तीव्रता कायम रहने भएकाले नेपालमा हरेक वर्ष बाढीपहिरोबाट ठूलो क्षति व्यहोर्नु परिरहेको मन्त्री दाहालले बताउनुभयो । यस्ता भौगालिक अवस्था र विशिष्टता नेपालको यातायात पूर्वाधार निर्माण र संरक्षणमा चुनौती रहेका उहाँले प्रष्ट पार्नुभएको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्