रामेछाप,१६ असार । रामेछापको मन्थली नगरपालिका–१, सानीमदौमा निर्माण गरिएको तरकारी तथा फलफूल चिस्यान केन्द्र प्रयोगमा नआउँदा वर्षौँदेखि अलपत्र परेको छ।
वाग्मती प्रदेश सरकारको ५ करोड र मन्थली नगरपालिकाको २ करोड १० लाख रुपैयाँ बराबरको लागत साझेदारीमा निर्माण गरिएको सो चिस्यान केन्द्र आर्थिक वर्ष २०७८/७९ बाटै सञ्चालनमा आउनुपर्ने भए पनि अहिलेसम्म उपयोगमा आउन सकेको छैन।
काम नै पुरा हुन बाँकी रहेकाे, हस्तन्तरण नभएकाे र सञ्चालन खर्च अत्यधिक हुने देखिएपछि कसरी सञ्चालन गर्ने भन्ने स्पष्ट योजना बन्न नसकेको स्थानीय तहका अधिकारीहरूले बताउनुभएको छ। अझै पनि केन्द्रको निर्माण अधुरै रहेको छ। सामान्य घेराबार समेत नभएकाले निर्माण भएका संरचनाहरू असुरक्षित बनेका छन्। ‘ याे लामो समयदेखि अलपत्र छ, न संरक्षण छ, न त सञ्चालनमा आएको छ,’ स्थानीय उद्धव सुवेदीले बताउनुभयो।
वाग्मती प्रदेश सरकारले चिस्यान केन्द्र निर्माण कार्य सम्पन्न गरी स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने भए पनि अहिलेसम्म हस्तान्तरण गरेकाे छैन। निर्माणको अन्तिम चरणमा पुगेको चिस्यान केन्द्र सञ्चालन गर्नका लागि अत्यधिक विद्युत् खर्च हुने देखिएको र पर्याप्त मात्रामा सामग्रीहरू नपुग्ने भएकाले यसले स्थानीय सरकारमाथि ठूलो आर्थिक भार पर्ने प्राविधिकहरूको भनाइ छ। तैपनि प्रदेश सरकारले निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेमा जिम्मा लिएर सञ्चालन गर्ने याेजनामा मन्थली नगरपालिका रहेकाे छ ।
यो समस्या रामेछाप मात्र नभई वाग्मती प्रदेशका अन्य जिल्लाहरूमा समेत दोहोरिएको देखिन्छ। प्रदेश सरकारले सबै जिल्लामा एकसाथ चिस्यान केन्द्र निर्माण गर्ने योजना ल्याएको थियो। ती सबै केन्द्रको निर्माण एकै निर्माण कम्पनीलाई दिइएको थियो।‘उक्त कम्पनीले बनाएका सबै जिल्लाका चिस्यान केन्द्रहरू एकैपटक हस्तान्तरण गरिनुपर्ने हो, तर अहिलेसम्म हस्तान्तरण प्रक्रिया अघि बढ्न सकेको छैन, यस विषयमा प्रदेशस्तरमा पनि छलफल भइरहेको छ,’ वाग्मती प्रदेश सभा अन्तर्गत उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्