जनता टाइम्स

१६ असार २०८२, सोमबार १५:२९

लोकतन्त्रप्रति सकारात्मक सन्देश प्रवाह गर्न पूर्वसांसदको भूमिका महत्त्वपूर्ण हुन्छ : सभामुख घिमिरे


काठमाडौँ, १६ असार । सभामुख देवराज घिमिरेले लोकतन्त्रप्रति जनतामा सकारात्मक सन्देश प्रवाह गर्न पूर्वसांसदको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ । पूर्वसांसद मञ्चले ६७औँ संसद् दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले अहिले लोकतन्त्रप्रति जनतामा विकर्षण बढाउन खोजिएकामा यसविरुद्ध पूर्वसांसदहरूको योगदान महत्त्वपूर्ण हुने बताउनुभयो ।

संसदीय लोकतान्त्रिक व्यवस्थामाथि चुनौती ल्याउन खोजिएकाले पूर्वसांसदलगायत सबै लोकतन्त्रवादी सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । संसद्लाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न ‘थिङ्क ट्याङ्क’को उहाँले आवश्यकता औंल्याउनुभयो । दश वर्षदेखि रोकिएर बसेको सङ्घीय निजामती विधेयक र सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन अघि बढेको उल्लेख गर्नुहँुदै उहाँले यसलाई चालु अधिवेशनले नै टुङ्गोमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

तीन महिनाअघि देखि नै बजेटका सिद्धान्त र प्राथमिकतामा विषयमा छलफल चलाउने गत वर्षदेखिको अभ्यास प्रभावकारी हुन नसकेको उहाँको भनाइ थियो । संसद्ले प्रत्येक वर्ष आर्थिक विधेयक पारित गर्ने गरेको उल्लेख गर्नुहुँदै सभामुख घिमिरेले यस्तो प्रक्रियाका बारेमा पनि बहस हुनुपर्ने बताउनुभयो । वर्षे अधिवेशनको धेरै समय आर्थिक विधेयकमै केन्द्रित हुने गरेकाले यस किसिमको छलफल आवश्यक हो वा होइन भन्नेमा यस्ता मञ्चमा छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने भनाइ पनि उहाँको थियो ।