काठमाडौं, १६ असर । निर्वाचन आयोगले रुपन्देही क्षेत्र नम्बर ३ मा आउने कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ। आयोगको आज बसेको बैठकले प्रतिनिधि सभा सदस्य रिक्त रहेको सो क्षेत्रमा उपनिर्वाचनको मिति तोकेको हो।
प्रतिनिधि सभा सदस्य दिपक बोहराको निधनपछि सो क्षेत्र रिक्त रहेको थियो। प्रतिनिधिसभा सदस्य रहेका बोहराको गत चैत १९ गते निधन भएको थियो। उहाँको निधनसँगै नेपाल सरकारको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम पद रिक्त रहेको संघीय संसद सचिवालयले मिति २०८१ चैत ३१ गते निर्वाचन आयोगलाई पत्रमार्फत जानकारी गराएको थियो।
संविधानको धारा ८४ को उपधारा ७ अनुसार प्रतिनिधि सभाको कार्यकालमा ६ महिनाभन्दा बढी समय बाँकी रहेको अवस्थामा रिक्त पदमा उपनिर्वाचन गरिनुपर्ने व्यवस्था छ। सोही अनुसार आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम मिति घोषणा गरेको हो।
आयोगले उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सरकारका तीनै तह, राजनीतिक दल, नागरिक समाज, मतदाता तथा सरोकारवाला सबैलाई सहयोग गर्न आग्रह गरेको छ।
निर्वाचन आयोगले समयमै निर्वाचनका कार्यक्रम सार्वजनिक गर्ने तयारीमा समेत रहेको जनाइएको छ। यसअघि गत वर्ष उपनिर्वाचन भएको तनहुँ, चितवन र बारा क्षेत्रहरूमा जस्तै यो निर्वाचनले पनि राष्ट्रिय राजनीतिमा विशेष महत्व राख्ने छ ।














प्रतिक्रिया दिनुहोस्