रामेछाप, १७ असार । नेकपा एमाले पोलिटब्युरो सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज कमलप्रसाद चौलागाईँले एमालेले सञ्चालन गरेको जरा केन्द्रित पार्टी निर्माण अभियान मिसन २०८४ मा केन्द्रित भएको बताउनुभएको छ ।
नेकपा एमाले रामेछापले मंगलबार मन्थलीमा आयोजना गरेको कार्यशालामा बोल्दै चौलागाईँले मिसन २०८४ केवल एमालेको सत्तामा पुग्ने रणनीति मात्र नभएर समाजवादको आधार निर्माण गर्ने आधार स्तम्भ भएको बताउनुभयो । ‘मिसन २०८४ सरकार बनाउने अभियान मात्र नभए पार्टीको सैद्धान्तिक अभियान पनि हो, यसले समाजवादको आधार तयार गर्दछ’, उहाँले भन्नुभयो ।
नेकपा एमालेको २५ वर्षे रणनीतिक कार्ययोजना अनुसार जरा अभियान चलाइएको उहाँले स्पष्ट पार्नुभयो । त्यसैले जरा अभियान साँच्चिकै जरासम्म पुगेको छ कि छैन भन्ने कुरा समीक्षा गर्न उहाँले आग्रह गर्नुभयो ।
चौलागाईँले पाटीमा देशैभरि कुनै न कुनै समस्या रहेको बताउँदै त्यसलाई ठुलो रूपमा नलिन आग्रह गर्नुभयो । पार्टी भित्र भएका सबै खालका समस्यालाई समाधान गरेर अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्