जनता टाइम्स

१७ असार २०८२, मंगलवार २२:२६

२०८४ को निर्वाचनमा एमालेबाट जसले नेतृत्व गर्छ, त्यही नै पार्टीका नेता बन्छ : माधव ढुङ्गेल 


रामेछाप, १७ असार । नेकपा एमाले केन्द्रीय सदस्य एवं संगठन विभाग सचिव माधव ढुङ्गेलले एमालेको विधान अधिवेशन तोकिएकै मितिमा हुने बताउनुभएको छ ।

नेकपा एमाले रामेछापले मंगलबार मन्थलीमा आयोजना गरेको कार्यशालामा बोल्दै ढुङ्गेलले पार्टीको आगामी रणनीति र कार्ययोजना सोही महाधिवेशनले तय गर्ने बताउनुभयो । महाधिवेशनले पार्टीको आगामी कार्ययोजना, सांगठनिक संरचना लगायतका विषयलाई स्पष्ट पार्ने ढुङ्गेलको धारणा छ । ‘विधान महाधिवेशनले केन्द्रदेखि जिल्ला सम्मको स्टकचरदेखि इञ्चार्जसिपसम्म तय गर्ने छ, यी सबै कुरा गहन छलफल पछि तय हुने छन्, लहडको भरमा निर्णय हुने छैन’, उहाँले भन्नुभयो ।

ढुङ्गेलले २०८४ सालको निर्वाचनमा पार्टीको तर्फबाट कसले नेतृत्व गर्ने भन्ने निर्णय पनि विधान महाधिवेशनले गर्ने बताउनुभयो । केपी शर्मा ओलीले नै नेतृत्व गर्ने निष्कर्ष निस्किए पार्टीमा उमेर हद र जिम्मेवारी त्यही अनुसार अघि बढ्ने ढुङ्गेलले स्पष्टप पर्नुभयो ।

ढुङ्गेलले एमाले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, राजनीतिक स्थायित्व र शान्तिको पक्षमा उभिएको पार्टी भएको स्पष्ट पार्नुभयो । त्यसै कारण एमाले माथि चौतर्फी आक्रमण भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य गीता कार्कीले विश्व राजनीतिमा अस्थिरता मच्चाउन चाहनेले नेपालमा पनि अस्थिरता मच्चाउने प्रयास गरिरहेका बताउनुभयो । नेपालमा कम्युनिष्ट पार्टी सत्तामा पुगेको मन नपराउनेहरुले एमालेलाई कमजोर बनाउने षडयन्त्र गरिरहेका बताउनुभयो । यस्तो अवस्थामा पार्टी भित्र रडाको मच्चाउन नहुने उहाँको धारणा छ ।

नेकपा एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाको अध्यक्षता तथा एमाले उपमहासचिव तथा नेपाल सरकारका मन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य कमल चौलागाईँ, प्रदेश कमिटी सचिवालय सदस्य शान्तिप्रसाद पौडेल लगायतले बोल्नु भएको थियो ।