ललितपुर, १८ असार । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले नेपाल तरुण दलको महाधिवेशन यही मंसिर २६ देखि २८ गतेसम्म अनिवार्य रूपमा सम्पन्न गर्ने निर्णय गरेको छ।
सभापति शेरबहादुर देउवाको अध्यक्षतामा असार १६ गतेदेखि पार्टीको केन्द्रीय कार्यालय बिपी स्मृति भवन, ललितपुरमा जारी बैठकले आज यस्ताे निर्णय गरेकाे हाे । आजको बैठकले तरुण दल महाधिवेशनको तयारी तथा व्यवस्थापन सहज बनाउने उद्देश्यले मौजुदा कार्यसमिति भित्रैबाट सानो व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ। महाधिवेशन निर्देशन समितिको सिफारिस अनुसार तरुण दलको वर्तमान केन्द्रीय समिति मंसिर २८ गतेसम्मका लागि विस्तार गरिएको छ।
तरुण दल महाधिवेशनको सम्पूर्ण तयारी र व्यवस्थापनको जिम्मेवारी पार्टीतर्फबाट निर्देशन समितिलाई दिइएको छ।
बैठकमा केन्द्रीय सदस्यहरू श्यामकुमार घिमिरे, मोहनबहादुर बस्नेत, शिवप्रसाद हुमागाईँ, कर्णबहादुर बुढा, गोविन्दबहादुर शाह, राजेन्द्रकुमार के.सी., इन्जिनियर मोहन आचार्य, रंगमती शाही, कान्तिका सेजुवाल र विद्यादेवी तिमिल्सिनाले आ–आफ्नो धारणा प्रस्तुत गर्नुभएकाे थियाे।
बैठकमा कोशी प्रदेशका सभापति उद्धव थापा, मधेशका कृष्णप्रसाद यादव, बागमतीका इन्द्रबहादुर बानियाँ, लुम्बिनीका अमरसिंह पुन, कर्णालीका ललितजंग शाही र सुदूरपश्चिमका वीरबहादुर बलायरले पनि बैठकमा आमन्त्रीत सदस्यकाे रुपमा विचार राख्नु भएकाे थियाे ।
बैठकमा विभिन्न प्रस्तावहरूमाथि छलफल जारी रहेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो। बैठक पुनः असार १९ गते दिउँसो १२:३० बजे पार्टी केन्द्रीय कार्यालयमै बस्नेछ।
प्रतिक्रिया दिनुहोस्