जनता टाइम्स

१९ असार २०८२, बिहीबार १५:१५

 आलोचनाबाट भाग्दै माधव नेपाल, रामकुमारी झाँक्रीले बोल्न खोज्दा एकीकृत समाजवादीको बैठक नै स्थगित 


काठमाडौं, १९ असार । आफूलाई निक्कै लोकतान्त्रिक भन्दै अरूलाई निरङ्कुश भएको आरोप लगाउने माधवकुमार नेपालले नेतृत्व गरेको पार्टीमा पार्टी नेताले बोल्न खोजेपछि बैठक नै स्थगित भएको छ ।

नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले बोल्न खोज्दा उहाँलाई बोल्न दिनु पर्ने भयले पार्टी सचिवालय बैठक नै रोकिएको छ ।

पार्टी अध्यक्ष माधव नेपाललाई भ्रष्टाचारको मुद्दा लागेपछि उहाँका विरुद्ध अभिव्यक्ति दिएको भन्दै सो पार्टीले झाँक्रीसँग स्पष्टीकरण माग्ने बताएको थियो । तर झाँक्रीले आफूसँग कुनै स्पष्टीकरण नमागिएको दाबी गर्दै आजको बैठकमा बोल्ने समय माग गर्नुभएको थियो । झाँक्रीले माधव नेपाल गनाउने सिनो भइसकेकोले उहाँलाई बोकेर हिँड्न नसकिने भन्दै नेतृत्व परिवर्तन गर्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो ।

आजको बैठकमा झाँक्रीले बोल्ने र आफ्नो विरुद्ध कुरा उठाउने भएपछि नेपालले बैठक नै स्थगित गर्न लगाउनुभएको छ । पार्टी महासचिव घनश्याम भुसालको स्वास्थ्यमा समस्या देखाउँदै असार २२ गते ११ बजे बस्ने गरी आजको बैठक स्थगित गरिएको छ ।

झाँक्रीले आफूलाई स्पष्टीकरण सोधेको भन्दै भ्रम फिँजाउने काम गरिएको भन्दै आफूले बैठकमा बोल्न पाउनु पर्ने र त्यसको लागि आज समय माग गर्नुभएको थियो । आफूले दिएका अभिव्यक्तिको विषयमा स्पष्ट पार्नको लागि झाँक्रीले समयमा मागेपछि सो पार्टीको बैठक नै स्थगित गरिएको हो ।

उहाँले सार्वजनिक टिप्पणीको स्पष्टीकरण दिने माध्यमा आफूले सार्वजनिक मिडिया बनाउन नचाहेको बताउँदै पार्टीमा नै बोल्न समय माग गर्नुभएको थियो । त्यसैले झाँक्री अझ कडा रूपमा प्रस्तुत हुने निश्चित भएपछि पार्टीको बैठक नै रोकिएको अनुमान गर्न सकिन्छ ।