काठमाडौं, असार १९ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा अध्यक्ष माधव नेपालविरुद्ध विस्फोटक अभिव्यक्ति दिएको भन्दै स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई निष्काशन गर्नुपर्ने आवाज उठेको छ ।
सचिवालय बैठकमा बोल्ने अधिकांश नेताले झाँक्रीले बोल्नै नहुने कुरा बोलेको भन्दै पार्टीबाटै निकाल्नुपर्ने दबाब दिएका हुन । झाँक्री नेकपा एसमा प्रभावशाली नेतृ मानिनु हुन्छ । नेकपा एमाले बिभाजनताका झाँक्रीले नै माधव नेपालको हात तानेर निर्वाचन आयोग लगेर सो पार्टी दर्ता गराउन भूमिका खेल्नुभएको थियो ।
पार्टीनिकट युवाको लुम्बिनी प्रदेशस्तरीय कार्यक्रममा झाँक्रीले माधव नेपालबिरुद्ध अख्तियारले दायर गरेको मुद्धाको प्रसंग उठाउँदै ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने बताउनु भएको थियो । झाँक्रीले बोलेको सो बिषयलाई लिएर प्रायः सबै नेताले आपत्ति जनाएको उपाध्यक्ष जयन्ती राईले बताउनु भयो ।
बैठकमा पतञ्जली प्रकरणमा अध्यक्ष नेपालमाथिको मुद्दा, पछिल्लो राजनीतिक अवस्थाका साथै पार्टीका आन्तरिक विषयमा उपाध्यक्ष धर्मनाथ साह, राजेन्द्र राईलगायतले धारणा राख्नुभएको थियो । नेताहरुको धारणापछि महासचिव घनश्याम भुसालको स्वास्थ्य समस्या कारण देखाउँदै आजको बैठक स्थगित गरिएको छ । सचिवालय बैठक आइतबारका लागि बोलाइएको छ ।
नेकपा एसका अध्यक्ष नेपालले झाँक्रीको सो अभिब्यक्तिलाई क्षमा नदिने भन्दै राजेन्द्र राईदेखि आफू निकट नेताहरुलाई बोलाएर पार्टीबाट निकाल्न माग गर्न भनेअनुसार सवै एकस्वरमा निकाल्ने पक्षमा उभिएको र माधवइतरका नेता नबोलेको सो पार्टीका नेताहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्