जनता टाइम्स

१९ असार २०८२, बिहीबार २१:४१

पार्टी नेतृत्वको छलफलमा होइन  विधान अधिवेशनको छलफलमा केन्द्रित बनौँ : शंकर पोखरेल 


काठमाडौं, १९ असार । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले कर्णाली प्रदेशका नेताहरूलाई आसन्न विधान महाधिवेशनमा केन्द्रित हुन निर्देशन दिनु भएको छ।

ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयबाट आज भर्चुअल माध्यममार्फत कर्णालीबाट प्रतिनिधित्व गर्नु भएका पोलिटब्युरो सदस्य, केन्द्रीय कमिटी सदस्य, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका पदाधिकारीहरूसँगको छलफलमा महासचिव पोखरेलले पार्टी नेतृत्वको छलफलमा लाग्नुभन्दा पहिले विधान महाधिवेशनको तयारीमा जुट्न निर्देशन दिनु भयो। उहाँले भन्नु भयो, ‘पार्टीको नीति र विधिको निर्धारण आसन्न विधान महाधिवेशनबाट हुने भएकाले प्रदेश, जिल्ला, पालिका, वडा र टोल तहमा व्यापक छलफल आयोजना गरी त्यसैअनुसार साङ्गठनिक प्रक्रियामा रहेर प्रतिवेदनमार्फत सुझाव पठाउनु होला, सबै तहबाट आएका सल्लाह र सुझावका आधारमा पार्टीको नीति, विधि तथा नेतृत्व छनोटको मापदण्ड तय हुनेछ।’

महासचिव पोखरेलले नेताहरूलाई सामाजिक सञ्जालका भ्रममा नपर्न आग्रह गर्नु भयो। साथै, पार्टी पङ्क्तिलाई एकताबद्ध बनाएर अघि बढ्नु अहिलेको मुख्य कार्य भएको समेत उहाँले उल्लेख गर्नु भयो। ‘पार्टीको नीति र विधिको तय आसन्न विधान महाधिवेशनले गर्ने भएकाले प्रदेश, जिल्ला, पालिका, वडा, टोल कमिटीमा व्यापक छलफलको आयोजना गरी सोही अनुसार साङ्गठनिक पद्धतिमा रहेर कमिटीको प्रतिवेदन मार्फत ल्याउन लाग्नु होला’, महासचिव पोखरेलले भन्नुभयो, ‘सबै तहका पार्टी कमिटीबाट आएका सुझावका आधारमा पार्टीको आगामी नीति, विधि र नेतृत्व छनोटको मापदण्ड तय हुन्छ ।’

बैठकमा एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इञ्चार्ज गोरखबहादुर बोगटीले पार्टीको सदस्यता नवीकरणदेखि आन्तरिक साङ्गठनिक जीवनसम्म कर्णालीमा कठिन भूगोलका बाबजुद उल्लेखनीय कार्य भएका बताउनु भयो।

एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्ष गुलावजङ्ग शाहले सङ्घीय तथा प्रदेश सरकार नेतृत्व गरेको एमालेले गरेका राम्रा कामको प्रचारमार्फत नागरिकहरूमा आशा र विश्वास जगाउनु अहिलेको प्रमुख जिम्मेवारी भएको धारणा व्यक्त गर्नु भयो।