जनता टाइम्स

२१ असार २०८२, शनिबार १३:४४

डडुवाका पहिरो पीडित थामी समुदायलाई २२ वटा अस्थायी आवास हस्तान्तरण


रामेछाप, २१ असार । रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवास्थित मजुवा दलेचौरका बाढीपहिरो पीडितलाई अस्थायी टहरा निर्माण गरी हस्तान्तरण गरिएको छ।

२०८१ सालको भदौ ८ गते र असोज १२ तथा १३ गतेको अविरल मुसलधारे वर्षाले सो क्षेत्रको थामी समुदायको बस्तीमा बाढीपहिरो जाँदा २७ वटा घरमा गम्भीर क्षति पुगेको थियो। पहिरोका कारण जमिनसमेत कटान भएर बस्ती नै जोखिममा परेपछि स्थानीयवासी विस्थापित भएका थिए । उक्त घटनामा पशुपंक्षी र चौपाया समेत मरेका थिए।

विपद्‌पछि सुरक्षित बसोबासको व्यवस्था गर्न गाउँपालिका र वडा नं १ का जनप्रतिनिधिहरू, स्थानीय समाज र संस्थाहरूको सहकार्यमा पहल सुरु गरिएको थियो। सोही पहलका क्रममा विभिन्न स्रोत तथा सहयोगमार्फत अस्थायी आवास निर्माण गरी पीडितलाई हस्तान्तरण गरिएको हो।

स्थानीय टोल सुधार समितिका संयोजक कुलबहादुर श्रेष्ठको सभाध्यक्षता र नेकपा (एमाले) बागमती प्रदेश कमिटीका सल्लाहकार सदस्य तथा समाजसेवी श्री टङ्कप्रसाद चौलागाईं प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे हाे । कार्यक्रममा दोरम्बा शैलुङ वडा नं १ का अध्यक्ष प्रेममकुमार लामा, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा बाढीपहिरो पीडितको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममार्फत २२ वटा अस्थायी टहरा पीडित परिवारलाई हस्तान्तरण गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथि  टङ्कप्रसाद चौलागाईंले विपद्का बेला राजनीतिक, सामाजिक र सामुदायिक तहबाट एकीकृत पहल आवश्यक रहेकोमा जोड दिनुहुँदै पीडितहरूको पीडामा साथ दिने सबैप्रति आभार प्रकट गर्नुभयो।

वडाध्यक्ष प्रेमकुमार लामाले विपद् व्यवस्थापनमा स्थानीय सरकारको दायित्वबारे प्रकाश पार्दै तत्कालका लागि अस्थायी ओतको व्यवस्था भए पनि आगामी दिनमा सुरक्षित र दीर्घकालीन पुनर्वासका लागि योजना तयार गरिने जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘जग्गा व्यवस्थापन र स्थायी घर निर्माणतर्फ अबको प्राथमिकता केन्द्रित हुनेछ।’

बाढीपहिरोपछि बस्नै नहुने अवस्थामा पुगेको बस्तीका थामी समुदायका पीडितहरूले महिनौँसम्म एउटै त्रिपालमुनि रात बिताउनुभएको थियो। कतिपय परिवारले सामूहिक चुल्होमा खाना पकाउँदै सहजीवन बिताउनु परेको थियो।

सो विपत्तिपछि पीडितहरूलाई राहतस्वरूप आवास निर्माणका लागि आवश्यक सामग्री व्यवस्थापन गर्न विभिन्न पक्षले सहयोग गर्नुभएको थियो। गैरसरकारी संस्था महासंघ नेपाल रामेछाप र नेकपा एमाले दोरम्बा शैलुङ गाउँपालिका कमिटीको संयोजनमा पीडितहरूलाई जस्तापाता उपलब्ध गराइएको थियो।

गैरसरकारी संस्था महासंघ नेपाल रामेछापको पहलमा सामाजिक संस्थामार्फत ५४ बण्डल जस्ता पाता उपलब्ध गराइएको थियो भने वडा पार्टीको पहल र नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य रत्नप्रसाद गौतम तथा सल्लाहकार सदस्य टङ्कप्रसाद चौलागाईंको समन्वयमा थप ८० बण्डल जस्ता पीडित परिवारलाई वितरण गरिएको जानकारी वडा सदस्य मङ्गले थामीले दिनुभयो।

अस्थायी आवास निर्माणका लागि नेकपा एमाले दोरम्बा शैलुङ गाउँपालिका–१ वडा कमिटीको नेतृत्वमा स्थानीय सामुदायिक वनसँग सहकार्य गरी आवश्यक काठ व्यवस्थापन गरिएको थियो। निर्माण कार्यमा स्वयं पीडित परिवारहरूको सक्रिय श्रमदानसमेत रहेको थियो।

पार्टीको जरा केन्द्रित अभियान अन्तर्गत स्थानीय पार्टी कमिटीको पहलमा काठ र जस्ता पाताको व्यवस्था गरी २२ वटा आवासीय टहराहरू निर्माण गरिएको हो।