-ज्ञानकुमार श्रेष्ठ-
नेपालको विद्यार्थी आन्दोलनको इतिहासले कहिल्यै आत्मसमर्पण स्वीकार गरेन, बरु प्रत्येक पुस्ताले नयाँ युग निर्माणको उद्घोष गर्दै अघि बढ्ने हिम्मत देखायो। पछिल्लो समय अनेरास्ववियु (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन) को २४ औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई हेर्दा लाग्छ-विगतका त्याग, बलिदान र संघर्षको जगमा आजको युवा पुस्ताले वैज्ञानिक, व्यावसायिक र प्राविधिक मार्ग रोज्दै देश निर्माणको वाचा गरेको छ। यो परिवर्तन सङ्ख्यात्मक मात्र होइन, गुणात्मक हो।
राजनीतिक अधिकारदेखि व्यावसायिक क्रान्तिसम्म
आजको विद्यार्थी आन्दोलन ‘राजनीतिक अधिकारका लागि संघर्ष गर्नुपर्छ’ भन्ने नाराबाट ‘देशलाई समृद्ध बनाउने प्राविधिक ज्ञानयुक्त नेतृत्व निर्माण गर्नुपर्छ’ भन्ने धारमा आइपुगेको छ। महँगी, भ्रष्टाचार, गैरजिम्मेवार राजनीतिक प्रवृत्तिविरुद्ध सडकमा उत्रिनु, नारा लगाउनु, निषेधित क्षेत्र चिर्नुजस्ता परम्परागत प्रतिवादको शैलीसँगै अब ‘क्लर्क बेस शिक्षा होइन, व्यावसायिक र सीपमूलक शिक्षा चाहिन्छ’ भन्ने आवाज मूलधारमा छ। अनेरास्ववियुले उठाउँदै आएको यो माग आज स्थापित बन्दै गएको छ।
२४ औँ राष्ट्रिय महाधिवेशनले प्रायः प्राविधिक शिक्षा हासिल गरिसकेका, उद्यम गर्न सक्ने, आफैँ बाँच्न सक्ने र अरूलाई पनि बचाउन सक्ने सामर्थ्य भएका युवाहरूलाई नेतृत्वमा पुर्याएको छ। यो केवल एक संगठनको नेतृत्व चयन होइन, नेपाली राजनीति र शिक्षा आन्दोलनमा युगान्तकारी मोड हो।
रामेछाप : बलिदान र चेतनाको उद्गम थलो
प्रवृत्तिमा परिवर्तन, मूल्यमान्यतामा रूपान्तरण र नेतृत्वको चरित्रमा गुणात्मक छलाङ मार्नु कुनै आकस्मिक घटना होइन। यसका ऐतिहासिक जरा छन्-त्यो जरा हो, रामेछाप। जहाँबाट गङ्गालाल श्रेष्ठले राणाशासनको विरुद्धमा आवाज उठाएर मृत्युवरण गर्नुभयो। त्यही रामेछापका सुपुत्र पुष्पलाल श्रेष्ठ भारतको कलकत्तामा रहँदा कांग्रेसले पर्याप्त क्रान्ति गर्न सक्दैन भन्ने ठानेर कम्युनिस्ट पार्टीको बीउ रोप्नुभयो। यहीँका क्रान्तिकारी कृष्णलाल अधिकारी ‘मकैकाे खेती’ जस्ता साहित्यिक प्रतिरोधका माध्यमबाट राणा शासनविरुद्ध लाग्दा जेलमा यातना भोग्नुभयो र जेलमा नै ज्यान गुमाउनु पर्याे ।
रामेछापमा सुगौली सन्धिमा दस्तखत गर्ने अग्रजदेखि पञ्चायतको अन्धकार युगमा पनि जनचेतनाको दीप जलाउने नेतासम्म छन्। यो जिल्ला ‘लालको किल्ला’ मात्र होइन, चेतनाको शिखर हो। यही कारणले होला-विद्यार्थी आन्दोलनमा पनि रामेछापले लगातार भूमिका खेल्दै आएको छ।
रामेछापको निरन्तर योगदान
राजनीतिक वृत्तमा आज नेकपा एमालेका शीर्ष नेताहरूदेखि अनेरास्ववियुकाे जरा बलियो बनाउने माधव ढुङ्गेलसम्मको यात्रामा रामेछापकै योगदान हो। युवासंघ नेपालको प्रारम्भिक रचना गर्ने कैलाशप्रसाद ढुंगेलदेखि युथ फोर्स गठनमा मैले आफैँ खेलेकाे भूमिका, संविधानसभा आन्दोलनदेखि राजनीतिक सङ्कटका बेला जनतालाई साहस दिने युवा नेताहरू रामेछापले प्रदान गर्दै आएको छ।
राजनीतिक वृत्तमा आजको प्रधानमन्त्री केपी शर्मा ओली संस्थापक अध्यक्ष रहेर निर्माण भएको आजको राष्ट्रिय युवा संघ नेपाल तत्कालीन अवस्थामा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ थियाे । आजको नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुंगेल त्यसकाे संस्थापक सदस्य हुनुहुन्थ्यो।
अनेरास्ववियुकाे २४ औँ महाधिवेशनले फेरि रामेछापकै एक होनहार युवा डाक्टर सुजन कडरियालाई नेतृत्वमा पुर्याएको छ। प्राविधिक शिक्षा लिएर उद्यमशील बनेका, सीपको बलमा जीवन अघि बढाइरहेका, मुलुक रूपान्तरण गर्ने अठोट बोकेका उनीजस्ता युवा नेताहरूको नेतृत्वले अनेरास्ववियुलाई नयाँ युगमा प्रवेश गराएको छ।
विद्यार्थी आन्दोलनको वर्तमान र भविष्य
विद्यार्थी आन्दोलन अब केवल सत्ताको दाहिने बायाँ काँध बन्ने हाेइन। यसको मुख्य उद्देश्य शिक्षाको आमूल सुधार, सामाजिक न्याय, समावेशिता र वैज्ञानिक सोचको प्रवर्द्धन हो। अहिलेको नेतृत्वमा रहेका अधिकांश विद्यार्थीहरू व्यवसायिक सीपयुक्त, प्रमाणपत्रसहित उद्यमशील छन्। यिनीहरू बेरोजगार पुस्ताको प्रतिनिधित्व होइन, भविष्यका नीति निर्माणकर्ता हुन्।
त्यसैले आजको अनेरास्ववियु केवल ‘राजनीतिक नाराको संगठन’ होइन ‘रचनात्मक कार्यदिशाको संस्थागत नेतृत्व’ हो। जब विद्यार्थी संगठनहरूले ‘के चाहिन्छ ?’ भन्ने बहसबाट ‘कसरी लागू गर्ने ?’ भन्ने व्यावहारिक योजनातर्फ अग्रसर हुन्छन्, तब आन्दोलन सफल बन्छ। आजको अनेरास्ववियु त्यो मोडमा उभिएको देखिन्छ।
आशा र अपेक्षाको दीप
नेपाल एक असाधारण मुलुक हो . जहाँ प्राकृतिक स्रोतसाधन प्रशस्त छन्, तर ती सदुपयोग हुन सकेका छैनन्। विश्वले जब हाम्रो हिमाल, पानी, वनजंगल हेर्छ, तब ‘नेपाललाई देखेर संसार नतमस्तक होस्’ भन्ने अपेक्षा स्वतः जागृत हुन्छ। यो कार्य केवल कुनै प्रधानमन्त्रीले मात्र सम्भव गर्न सक्दैन, यसको नेतृत्व सोच, दृष्टिकोण र नीति भएको नयाँ पुस्ताले गर्नुपर्छ।
त्यसैले विद्यार्थी आन्दोलनको नेतृत्व सम्हाल्ने युवाहरूले केवल प्रतिरोध होइन, विकल्प निर्माणको यात्रा तय गर्नुपर्छ। राजनीतिक सत्ता, दलगत हैसियत वा चुनावी समीकरणभन्दा माथि उठेर ‘देश बनाउने विचार र ऊर्जा’ बोकेको पुस्ताको अगुवाइ हुनुपर्छ।
निष्कर्ष
नेपाली विद्यार्थी आन्दोलन पुनः एउटा महत्त्वपूर्ण मोडमा आइपुगेको छ। प्राविधिक शिक्षाले सुसज्जित, उद्यमशील विचारले अभिसिक्त र ऐतिहासिक चेतनाले जागरित यो पुस्ताको नेतृत्वले आन्दोलनलाई वैज्ञानिक समाजवादतर्फ डोर्याउने आशा जगाएको छ।
रामेछापले दिएको योगदान इतिहास हो, अनेरास्ववियुको नयाँ नेतृत्व वर्तमान हो, र यो नेतृत्वले गर्ने कार्य, भविष्यको सुनिश्चितता बन्न सक्छ।
यो नेतृत्वले देशलाई नक्सा मात्र होइन, दिशा पनि दिनेछ भन्ने विश्वास गरिएको छ। सबै युवाहरूलाई जिम्मेवारीको अनुभूति गराउँदै देशप्रेम, लगनशीलता र वैज्ञानिक दृष्टिकोणका साथ अघि बढ्न शुभकामना प्रकट गरिन्छ।
प्रतिक्रिया दिनुहोस्