काठमाडौं, २२ असार । २०६४ चैत २७ गते संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजपुर फरहदवामा भएको बम विस्फोटमा घाइते भएका भारतको बिहार सीतामढीका ४३ वर्षीय गौरीशंकर राम चमारले आफू अन्यायमा परेको भन्दै गुनासो गर्नुभएको छ ।
नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताब आलमको घरनजिकै रहेको इँटाभट्टामा बम विस्फोट हुँदा घाइते हुनुभएका गौरीशंकर उच्च अदालत वीरगन्ज इजलासबाट आलमलाई बम बिष्फाेट भएकाे कुनै प्रमाणा नदेखिएकाे भन्दै सफाइ दिइएपछि बमकाे चाेटले छियाछिया भएकाे सरिर लिएर काठमाडाैं आइपुग्नु भएकाे हाे ।
आफू आलमकाे इँटाभट्टामा पैसा लिन गएका बेला बम विस्फोट भएको बताउँदै उहाँले भन्नुभयो, ‘घरको ढोकाको छेउमा पुगेको थिएँ, त्यत्तिकैमा बम पड्कियो, म बेहाेस भएँ, मेराे अनुहार, घाँटी र छाती जलेको थियो, दुवै कान पनि उड्यो ।’
घाइते अवस्थामा उहाँलाई उद्धार गरी भारतको सीतामढी पुर्याएका थिए । उहाँका अनुसार उहाँलाई तीन महिनासम्म उपचार गराउँदा साढे तीन लाख भारतीय रुपैयाँ खर्च भएको थियो । ‘मलाई अस्पतालमा पुर्याए, आँखाले केही देख्दैनथ्यो, बोल्न सक्दिनँथ्यो, तर अफ्ताब आलमले एकचोटि पनि सोधेन मान्छे बाँच्यो कि मरेको भनेर ।’ गौरीशंकरले भन्नुभयो ।
उहाँले आजसम्म अफ्ताबले एक पैसा पनि नदिएकाे र भेट्न पनि नआएकाे उहाँले गुनासाे गर्नुभयाे । घटनामा आफू बचेपनि अहिले असैह्य पीडा बाेकेर बाँचेकाे उहाँले बताउनुभयाे । बमकाे चाेटका कारण घाममा निस्कँदा गाह्राे हुने उहाँले सुनाउनुभयाे । ‘म त्यही ठाउँमा थिएँ, म बमले घाइते भएको हुँ, बम पड्किएको छैन भन्ने फैसलाले मलाई अन्याय भएको छ’, उहाँले भन्नुभयो ।
गौरीशंकरले आफूमाथि धम्कीसमेत आएको आरोप लगाउनुभएको छ । उहाँका अनुसार घटनापछि आलम पक्षका व्यक्तिहरूले उहाँको आमालाई भेटेर ‘तिम्रो छोरा त अब बाँच्दैन’ भनेर धम्की दिएका थिए ।उहाँले भन्नुभयो, ‘अफ्ताबको मान्छे घरमा आएर आमालाई धम्की दिएको थियो,अहिले पनि मलाई डर लागिरहेको छ, मलाई मारे भने को जिम्मेवार हुन्छ ?’
अफ्ताब आलममाथि सो घटनामा संलग्न रही घाइतेहरूलाई जिउँदै इँटाभट्टामा हालेर जलाएको अभियोग लागेको थियो । जिल्ला अदालत रौतहटबाट पुर्पक्षका लागि थुनामा पठाइएका आलमलाई उच्च अदालत वीरगन्जले गत साता सफाइ दिएको हो ।
तर घटनाका प्रत्यक्ष पीडित गौरीशंकर भने आफूमाथि भएको अन्यायको पीडासहित न्यायको माग गर्दै हुनुहुन्छ । ‘सरकारसँग अनुरोध गर्छु, यस्तो मान्छे छुटाउनु हुँदैन, कडा सजाय दिनुपर्छ,’ उहाँले भन्नुभयो ।
यस्ताे छ गाैरीशंकरकाे बयान:
म रौतहटको राजा ईँटाभट्टामा काम गर्दैथिएँ । हप्ताको दिन थियो । पैसा लिन मलाई बोलाएर लिएर गयो । हामी तीन जना थियौंँ। मलाई भन्यो-भाइ यता आएर तिमी आफ्नो पैसा लिएर जाऊ । घरको ढोकाको छेउमा पुगेको बम पड्कियो । आगो लागेपछि म भागेँ । घरको पछाडि पानी थियो, त्यहाँ पानी हालेँ । फेरि म भागेँ । त्यसपछि मलाई थाहा भएन कि म कहाँ हो ? एकैचोटी मेरो आँखा खुल्यो सीतामढीमा । आँखा खुलेपछि मैले आमालाई सोधे– कहाँ हो यो ? आमाले भन्नुभयो– यो सितामढी हो, म तिमीलाई अस्पताल लिएर गइरखेको छु । केही चिन्ता नगर, ठीक हुन्छ तिमीलाई ।
त्यसपछि मेरो आँखा फेरि बन्द भयो । मेरो इलाज तीन महिना जति भयो । मलाई साढे ३ लाख आईसी खर्च भयो । अफ्ताबले एकचोटी पनि सोधेन– मान्छे कस्तो छ, के छ ? एक रुपैँया पनि दिएन । सोधेको पनि छैन । आज म सरकारसँग निवेदन गर्छु, त्यस्तो मान्छेलाई छोड्नुभएन । त्यसलाई कडाभन्दा कडा सजाय दिनुपर्यो ।
निर्वाचनको एक दिन पहिला बेलुकातिर बम विस्पोट भएको थियो । अफताब आलमको काकाको घरमा । मैले पनि सुनेको त्यहाँ धेरै मान्छे जलेको छ, गाउँको मान्छेले मलाई उठाएर कसरी भारतसम्म पुर्याए मलाई थाहा भएन । दुई जना मेरो गाउँको मान्छे पनि जलेको छ, एउटाको हातमा र अर्कोको खुट्टामा लागेको छ । कति मान्छे घाइते भए, त्यो त मलाई थाहा भएन । होस् भए पनि थाहा हुन्छ कतिलाई लागेको थियो भन्ने ।
त्यहाँ बम विष्फोट भएको छ, मलाई बम लागेको छ । अदालतको फैसलाले मलाई अन्याय भएको छ मैले भनिराखेको छु । मलाई त्यसैमा बम लागेको छ । अरू मान्छे चाहिँ कति मर्यो मलाई थाहा भएन । इलेक्सनको एक दिन पहिला भएको छ, अफ्ताब आलमले नै बम विष्पोट गराएको त मैले भन्न सक्दिनँ । तर, उसैको घरमा भएको छ ।
सुरुसुरुमा एसपी कार्यालयमा मैले बयान दिँदा मेरो घरमा गएको थियो । म घरमा नहुँदा खेरी त्यसको आद्मि गएर मेरो आमालाई भनेको छ– तिम्रो छोरा त गयो अब । तिम्रो छोरा दुई/चार साल बितेपछि बाँच्दैन । अफ्ताब आलमको मान्छे गएर भनेको छ । मलाइ धम्की दिएको छ ।
अफ्ताब आलम छुटेकोमा मलाई दुःख लाग्यो, बम बनाएर, बम फ्याकेर हामी पीडित मान्छे । त्यस्तो मान्छे छुट्यो, मलाई धम्की पनि दिएको छ । मलाई मार्छ, त्यस्तो मलाई लागेको छ । अब मलाई डर भयो । मेरो शारीरिक अवस्था नाजुक छ । काम पनि भेटिँदैन, काम गर्न पनि सक्दिनँ । म मर्ने कि बाच्ने, मैले केही पनि देखिनँ ।
प्रतिक्रिया दिनुहोस्