काठमाडौं, २३ असार । राप्रपाका सांसद दीपकबहादुर सिंहले भिजिट भिसा प्रकरणमा सरकारको भूमिकाप्रति असन्तुष्टि जनाउनुभएकाे छ ।
उहाँले बहुमतकाे बलमा सदन नचलाउन सरकारलाई चेतावनी दिनुभयाे । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले सरकार संवेदनशील विषयमा पनि कानमा तेल हालेर बसेको बताउनुभयाे । ‘भिजिट भिसाको नाममा हजारौँ नेपाली ठगिए, विदेशमा बेचिए, मुलुकको साख धरापमा पर्यो तर छानबिन समिति किन बनेन ?’ उहाँले भन्नुभयाे ।
उहाँले संसदीय छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामाको माग दोहोर्याउँदै यस्ता गम्भीर विषयमा सत्ता पक्ष गम्भीर नभएको आरोप लगाउनुभयो । उहाँले यस्तो मुद्दामा सरकार मौन बसेर टार्न खोजे राप्रपाले आजकाे बैठक पनि वहिष्कार गर्ने बताउनुभयाे ।
सांसद सिंहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), स्वतन्त्र सांसदहरू र विपक्षी दलहरूले पटकपटक उठाएको यो मागलाई बेवास्ता गर्दै आएको भन्दै सरकारको नियतमाथि प्रश्न गर्नुभयो ।‘अरू धेरै विषयमा छानबिन समिति बन्थे, यो विषयमा किन अप्ठ्यारो ?’, उहाँले प्रश्न गर्नुभयो ।
भिजिट भिसा प्रकरणलाई लिएर रास्वपा र राप्रपा संसद बैठक बहिष्कार गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्