जनता टाइम्स

२५ असार २०८२, बुधबार १६:५५

उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेटवार्ता


काठमाडौँ, २५ असार । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनी कोर्टेभलबीच शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आज उपराष्ट्रपति कार्यालय लैनचौरमा भएको भेटवार्तामा उहाँहरूबीच शुभकामना आदानप्रदानका साथै नेपाल र फ्रान्सबीचको द्विपक्षीय सम्बन्ध, साझेदारीका विविध आयाम तथा भावी सहकार्यको सम्भावनाबारे महत्त्वपूर्ण छलफल भएको उपराष्ट्रपति कार्यालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले सन् १९४९ मा दुवै मुलुकबीच स्थापना भएको कूटनीतिक सम्बन्ध सुमधुर रहँदै आएको स्मरण गर्दै भन्नुभयो, “हाम्रो मित्रवत् सम्बन्ध पारस्परिक सम्मान र सहयोगमा आधारित छन् ।” उहाँले फ्रान्सको स्वतन्त्रता, समानता र भ्रातृत्वको आधारभूत मूल्यको प्रशंसा गर्दै ती मूल्यले नेपालका राजनीतिक आन्दोलन तथा सङ्घर्षमा उत्प्रेरकको भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो । नेपालको पूर्वाधार विकासमा युरोपेली सङ्घमार्फत फ्रान्सले दिएको दीर्घकालीन सहयोगप्रति आभार व्यक्त गर्दै उपराष्ट्रपति यादवले आगामी दिनमा दुई देशबीचको सम्बन्ध जनताको हितमा केन्द्रित रहँदै थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले फ्रान्सको आगामी राष्ट्रिय दिवसका अवसरमा फ्रान्सेली राष्ट्रपति तथा जनताप्रति सुख, शान्ति र समृद्धिको शुभकामना पनि व्यक्त गर्नुभयो । नेपालका लागि फ्रान्सका राजदूत कोर्टेभलले नेपाल र फ्रान्सबीचको सम्बन्ध र भ्रातृत्व प्रेम, साझा लक्ष्य र धारणामा आधारित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो कार्यकालमा दुई देशबीचको सुमधुर सम्बन्धलाई थप उचाइमा पुर्‍याउने प्रयास रहनेछ ।”