काठमाडाैं, २३ असार । नेकपा एमाले रामेछाप जिल्ला कमिटीका नेता तथा उमाकुण्ड गाउँपालिका–१ का वडा कमिटी अध्यक्ष दोमा सर्की शेर्पाको ६५ वर्षको उमेरमा निधन भएको छ।
गुम्देल निवासी शेर्पाको साेमबार बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो। उहाँ विगत केही समयदेखि अस्वस्थ हुनुहुन्थ्यो। उहाँको बुधबार काठमाडाैंमा अन्तिम संस्कार गरिएको छ । नेकपा एमाले सल्लाहकार परिषद्का अध्यक्ष अमृत कुमार बोहराले पार्टीको झण्डा ओढाएर शेर्पालाई अन्तिम बिदाइ गर्नुभयो ।
वि.सं. २०२५ मंसिर १० गते जन्मिनु भएका शेर्पा श्री महालङ्गुर माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक, नेपाल राष्ट्रिय शिक्षक संगठन वाग्मती प्रदेशका पूर्व सदस्य समेत हुनुहुन्थ्यो। उहाँ लामो समयदेखि पार्टी र जनताको सेवामा समर्पित रहनुभएको थियो।
उहाँको अन्तिम बिदाइमा नेकपा एमाले केन्द्रीय सचिव योगेश भट्टराई, पार्टी पोलिटब्युरो सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज कमलप्रसाद चौलागाईं, केन्द्रीय सदस्य माधव ढुङ्गेल, गीता कार्की, वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल, प्रदेश सचिवालय सदस्य शान्तिप्रसाद पौडेल, प्रदेश सदस्य रत्नप्रसाद गौतम, जिल्ला अध्यक्ष पुरुषोत्तम कडरिया लगायतका नेताहरूको उपस्थिति थियो।
पार्टीका सम्पर्क मञ्च, नगर कमिटी, गाउँपालिका कमिटी, वडा कमिटीका प्रतिनिधिहरू, निर्वाचित जनप्रतिनिधिहरू तथा स्थानीय नेतागणहरूको पनि उल्लेखनीय उपस्थिति रहेको नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग रामेछापका प्रमुख राकेश श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्