रामेछाप, २७ असार । रामेछाप जिल्लामा रहेका सरकारी कार्यालयहरूको सार्वजनिक सुनुवाइ कार्यक्रम बिहीबार रामेछापमा सम्पन्न भएको छ।
रामेछाप नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रम जिल्ला प्रशासन कार्यालय रामेछापको आयोजनामा भएको हो । कार्यक्रममा जिल्लाका ३० भन्दा बढी सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले चालु आर्थिक वर्षको हालसम्मको प्रगति, बजेट खर्च र सेवा प्रवाहको विवरण सार्वजनिक गर्नुभएको थियो ।
कार्यक्रम रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेको प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै रामेछाप नगरपालिका प्रमुख न्यौपानेले सेवा प्रदायकले गर्ने सबै काम पारदर्शी हुनु पर्ने बताउनुभयो । उहाँले विकासको काम गर्ने कार्यालयहरूलाई स्थानीय तहसँग समन्वय गरेर काम गर्न आग्रह गर्नुभयो ।
सेवा प्रदायक कार्यालयहरूको उत्तरदायित्व अभिवृद्धि गर्नु र नागरिक प्रति प्रत्यक्ष जबाफदेही बनाउनको लागि कार्यक्रम आयोजना गरिएको प्रजिअ थापाले बताउनुभयो । उहाँले अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्ने सूचना सार्वजनिक गर्न पनि जिल्लाका सरकारी कार्यालयहरूलाई निर्देशन दिनुभयो ।
सार्वजनिक सुनुवाइको क्रममा पत्रकार र नागरिक प्रतिनिधिहरूले विभिन्न कार्यालयका कामका बारेमा प्रश्न उठाउनु भएको थियो ।













प्रतिक्रिया दिनुहोस्