काठमाडौं, २७ असार । नेकपा एमालेका सचिव योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत पार्टीभित्रको विवाद समाधानका लागि आपसी ललकारको शैली त्याग्न सुझाव दिनुभएको छ।
सचिव भट्टराईले शुक्रबार फेसबुकमा लेख्दै ‘च्यासललाई ललकार्ने, च्यासलबाट ललकार्ने, कृपया यो तरिका बन्द गरौँ’ भन्दै वर्तमान अन्तर्विरोधलाई संवाद र सहकार्यबाट हल गर्नुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले ‘बसौँ, आपसमा विमर्श गरौँ, सहकार्य मार्फत समाधान खोजौँ, जबजको मर्म पनि यही हो’ भन्दै पार्टी र नेताहरूबिच आपसी सहकार्य र विचार आदान–प्रदान आवश्यक रहेको उल्लेख गर्नुभएको छ।
भट्टराईले राष्ट्र, जनता र एमाले सबैलाई एक ठाउँमा उभ्याउने साझा आधार निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ। पछिल्लो समय एमालेभित्र आन्तरिक असमझदारी र सार्वजनिक आरोप–प्रत्यारोपको सन्दर्भमा उहाँको यो अभिव्यक्ति आएको हो ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको सदस्यता नवीकरण गरी आउने महाधिवेशनमा पार्टी अध्यक्ष बन्ने अभिव्यक्ति दिएपछि एमाले भित्र विवाद सुरु भएको छ । केही नेताहरू मदनको नीति, विद्याको नेतृत्व भन्दै हिँडेका छन् भने धेरै नेताहरू विधान महाधिवेशन नै नभएको अहिलेको अवस्थामा नेतृत्वको विवाद गरेर पार्टीलाई कमजोर बनाउने काम गर्नु नहुने बताउँदै आएका छन् ।













प्रतिक्रिया दिनुहोस्