जनता टाइम्स

२८ असार २०८२, शनिबार १६:५२

महाधिवेशनको तयारीमा जुट्यो एनआरएनए, निर्वाचनसहित तीन समिति गठन


काठमाडौं, असार २८ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को आगामी अक्टोबरमा हुने १२औँ महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समिति गठन गरिएको छ ।

गत अन्तराष्ट्रिय सम्मेलनबाट निर्वाचित रसियाका बद्री केसी नेतृत्वको एनआरएनएले शुक्रबार बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को बैठकले अधिवक्ता डा. राजेन्द्र घिमिरेको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको हो ।

समितिमा सङ्घका संस्थापक सचिव बेलायतका चिरञ्जीवी ढकालसहित टिबी कार्की, प्रितम श्रेष्ठ, होम पाण्डे, प्रकाश सापकोटा र रजनी प्रधान सदस्य रहनुभएको छ । यस्तै, सङ्घको निर्वाचन प्रक्रिया अनुगमन गर्न पूर्वअध्यक्ष रामप्रताप थापाको संयोजकत्वमा निर्वाचन अनुगमन समिति गठन गरिएको छ । उक्त समितिमा सञ्जय थापा, टेकराज निरौला, कमलमणि गुरागाईं, नारायण काफ्ले, अतुल कोइराला र मुक्तबहादुर गुरुङ सदस्य रहनुभएको छ ।

यस्तै बैठकले भीम उदास, भक्त गुरुङ, डा देवी बस्नेत, ओम गुरुङ, शमशेर थापा, यास्मीन बेगम र पुरुषोत्तम बोहरा सदस्य रहेको न्यायिक समिति गठन गरिएको छ । सङ्घको विधानअनुसार अन्तर्राष्ट्रिय महाधिवेशन हुने तीन महिना अगावै यी समितिहरू गठन गर्नुपर्ने प्रावधान अनुसार समिति गठन गरिएको एनआरएनएले जनाएको छ ।

शुक्रबारको बैठकमा सङ्घका केन्द्रीय पदाधिकारी, आईसीसी सदस्य, सल्लाहकार लगायतको उपस्थिति रहेको थियो । गैरआवासीय नेपाली सङ्घको १२औँ महाधिवेशन आगामी अक्टोबर ११ देखि १४ सम्म काठमाडौँमा हुँदैछ । यद्यपि एनआरएनमा आधिकारिकताको विवाद भने कायमै छ । गत वैशाखमा महाधिवेशनमा चुनाव हारेका समुहले ‘एकता महाधिवेशन’ नाममा जापानका अर्वपति ब्यापारी महेश श्रेष्ठको अध्यक्षतामा नयाँ समानान्तर कार्यसमिति बनाएको छ ।

महेश नेतृत्वको कार्यसमिति बने पनि केसी नेतृत्वको कार्यसमिति नै बैध रहेको भन्दै केन्द्रीय कार्यालयमा प्रवेश नै निषेध गरेको छ । यसबारे विवाद सर्वोच्च अदालतमा अझै विचाराधीन रहेको छ । संभवत अदालतले केसी नेतृत्वको कर्यासमितिले महाधिवेशन नगर्दासम्म मुद्दा बिचाराधिन नै राख्ने योजना बनाएको देखिएको छ । केसी नेतृत्वको बैधानिक कार्यसमितिले अहिल राष्ट्रिय सम्मेलन गरिरहेको छ । सम्मेलनमा उल्लेख्य एनआरएनको सहभागिता देखिएको छ ।