रामेछाप, २९ असार । मापदण्ड मिचेर खोलाको बहावलाई प्रभाव पार्ने गरी बनाइएको मन्थली–गेलु सडकको बफर खोला क्षेत्रको सडक निर्माण पुरा नहुँदै खोलाले बगाएको छ ।
नागबेली कन्स्ट्रक्सनले पूर्वाधार कार्यालय मार्फत निर्माण गरेको सो सडक स्थानीयको सहमति बिना बफर खोला मिचेर बनाइएको थियो । एआई र स्थानीय तहसँग कुनै समन्वय नगरी खोलाको ढुङ्गा, चोकर लगायतका सामाग्री प्रयोग गरेको भन्दै सडक निर्माणको बेलामा नै स्थानीयले विरोध जनाएका थिए । स्थानीयको माग प्रकृतिको सामान्य नियमको समेत बेवास्ता गरी बनाएको सडक गाडी नचल्दै बगाएको मन्थली नगरपालिका–८ चिसपानीका वडाध्यक्ष गोपाल श्रेष्ठले बताउनुभयो ।
कम्पनीले उक्त सडक क्षेत्रमा फाउण्डेसन निर्माण सहित २ सय ४५ मिटर सडक ढलानको ठेक्का लिएको थियो । मझुवा र सो खण्डमा गरी १ करोड २५ लाख रुपैँयामा काम लिएको कम्पनीका प्रमुख वीरबहादुर बरुवालले बताउनुभयो ।
खोला थुनेर सडक बनाएको कारण खोलामा आएको बाढीले बगाएको श्रेष्ठले जानकारी दिनुभयो । ‘सडक बने पछि पहिलो बाढीले नै सडक बगाउन सुरु गरेको छ, अब थप वर्षा हुँदा के हुन्छ थाहा छैन’, उहाँले भन्नुभयो ।
खोला चेपेर रोड बनाई खेत पट्टी खोला लगाइदिँदा आफ्नो खेत कटान हुने अवस्थामा पुगेको स्थानीयको गुनासो थियो । तर खालेले बग्ने ठाउँ नपाए पछि सडक नै बगाउन सुरु गरेको छ । खोलाले सडक बगाएपछि मन्थलीबाट गेलु नाटिला जाने सडक अवरुद्ध भएको छ ।
मन्थली नगरपालिका–८ का वडाध्यक्ष श्रेष्ठले निर्माण व्यवसायीले समन्वय नै नगरी काम गर्दा सुरु देखि नै समस्या आएको र सडक पुरा नहुँदै बगाएको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्