जनता टाइम्स

३० असार २०८२, सोमबार १७:०३

प्रधानमन्त्री ओलीले प्रचण्डलाई फर्काए कठोर जवाफ


काठमाडौं, असार ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कठोर जवाफ फर्काउनु भएको छ ।

आफ्नो कार्यकालमा केही नगरेका पूर्वप्रधानमन्त्री दाहालले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणमा ढिलाइ भएको भन्दै प्रश्न उठाएपछि प्रधानमन्त्री ओलीले प्रतिक्रिया जनाउँदै कठोर जवाफ फर्काउनु भएको हो ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत प्रचण्डको प्रश्नको जवाफ दिँदै भन्नुभएको छ, ‘कीर्तिपुरको मैदानमा खोई फ्लडलाइट ? खोई प्यारापिट ? भनेर प्रश्न गर्नुभयो। म आग्रह गर्छु, बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोलहरू पनि हेर्न जानुस्। बनिरहेको छ।’

प्रधानमन्त्री ओलीले आफूले योजनाहरू टाइमलाइनसहित अघि सारेको र त्यसमा काम भइरहेको प्रष्ट पार्दै प्रचण्डमाथि व्यंग्य पनि गर्नुभएको छ । ‘तपाईं प्रधानमन्त्री हुँदा कुनै पनि काममा टाइमलाइन तोकेर गर्छु भन्नुभएन। तपाईंका त न कुनै वाचा, न कुनै निर्णय, न कुनै संकल्प, न कुनै काम । मैले त दिन तोकेर गर्छु भनें, आफैंमाथि प्रश्न आह्वान गरें, र काम पनि गरें,’ प्रधानमन्त्री ओलीको जवाफ छ ।

प्रधानमन्त्री ओलीले प्रचण्ड नेतृत्वको सरकारले छाडेर गएको अर्थतन्त्रको बेहाल अवस्थाबारे पनि टिप्पणी गर्नुभएको छ । ‘तपाईंले जर्जर बनाएको अर्थतन्त्र अहिले कहाँ पुगेको छ ?, तथ्याङ्क हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु,’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।

यसअघि प्रचण्डले प्रतिनिधिसभामा सम्बोधनका क्रममा उनकै नेतृत्वको सरकारले कीर्तिपुर रंगशालामा फ्लडलाइट जडानका लागि ठेक्का सम्झौता गरिसकेको तर त्यसपछि सरकार परिवर्तन भएर ओली सरकारले ३०० दिनभित्र रंगशाला निर्माण सम्पन्न गर्ने घोषणा गरेको एक वर्ष बितिसक्दा पनि काम सम्पन्न नभएको भन्दै सरकारमाथि प्रश्न उठाएका थिए।

प्रधानमन्त्री ओलीको जवाफ जस्ताको तस्तै

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालजीले आज प्रश्न सोध्नुभएछ– कीर्तिपुरको मैदानमा खोई फ्लडलाइट ? खोई प्यारापिट ? मेरो उहाँलाई आग्रह छ, बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस् । बनिरहेको छ । तपाईं प्रधानमन्त्री हुँदा कुनै पनि कामलाई टाइमलाइन तोकेर गर्छु भन्नुभएन र तपाईंले केही गर्नु पनि परेन र गर्नु पनि भएन । सरकारको कामबारे तथ्यतथ्यांक राखेर तपाईंले प्रधानमन्त्रीको रुपमा जवाफ पनि दिनु परेन। तपाईंका त न कुनै वाचा, न कुनै निर्णय, न कुनै संकल्प, न कुनै काम । मैले त दिन तोकेर गर्छु भनें, आफैंमाथि प्रश्न आह्वान गरें र काम पनि गरें । तपाईंले जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुग्यो, तथ्याङ्क हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु ।