काठमाडौं, ३० । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालले पार्टी र जनसंगठनका निर्णय अवज्ञा गर्नेको नोटिस पार्टीले राख्ने बताउनुभएको छ ।
ढकालले आफ्ना संगठनका नेता कार्यकर्ताले के गरिरहेका छन् भन्ने कुरा नोटिस समेत राख्न नसक्ने पार्टी पार्टी नहुने स्पष्ट पार्नुभयो । ‘पार्टीको नीतिगत र संस्थागत निर्णय भन्दा बाहिर भएका गतिविधि पार्टीको नोटिसमा छन्, पार्टीले गरेका हरेक संस्थागत निर्णय भएको नभएको नोटिस नहुने पार्टी त निर्जीव हुन्छ, एमाले जस्तो सजीव पार्टीमा नोटिस हुनु स्वाभाविक नै हो’, उहाँले भन्नुभयो ।
आफूले भनेको यही कुरालाई लिएर विभिन्न खालका चर्चा गरिएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । आफ्नो स्तर अनुसार आफूले बोलेको कुराको व्याख्या भएको उहाँको भनाइ छ । ‘आफ्ना आफ्ना स्तर अनुसारका प्रचार सामाजिक सञ्जाल मार्फत गर्नुभएको छ’, उहाँले भन्नुभयो ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको सक्रिय राजनीतिमा आउने कि नआउने भन्ने कुरा उहाँको व्यक्तिगत कुरा भएको उहाँको भनाइ छ । यस विषयलाई आफ्नो अनुकूल प्रचार गर्ने र आफूलाई मन नपरेका मानिसहरूको उछित्तो काढ्ने काम नगर्न उहाँले आग्रह गर्नुभयो ।
‘कुनै पनि विषयलाई लिएर एमाले भित्र भाँजो हाल्ने र आफूलाई मन नपर्ने नेताहरूको बदनाम गर्न सकिन्छ कि भन्ने उद्देश्यले सार्वजनिक खपतको विषय बनाउन आवश्यक छैन’, उहाँले भन्नुभयो ।
केही मानिसहरू पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका प्रवक्ता जस्तो बनेर बोलेका बताउँदै ढकालले उनीहरूले उहाँकै भाषा बालिरहेका छन् वा उहाँको सिरानीमा आफ्ना कुरा गरिरहेका छन् ? भन्दै प्रश्न गर्नुभयो ।
‘यो समय क्रमले पुष्टि गर्ला, सहयोग गर्ने कुरा, सहानुभूति राख्ने कुरा, आफ्नो नेतृत्वलाई जानकारी गराउने कुरा त अप्ठेरो भएन, तर त्यही नाममा पार्टी भित्र भाँजो हाल्ने र निष्ठा र इमानपूर्वक काम गरेका मानीहरूको बदनामी गरेर आफ्नो रोटी सक्ने कुरा चाहिँ राम्रो भएन’, उहाँले भन्नुभयो ।
ढकालले नेपालको कम्युनिष्ट आन्दोलनमा विभिन्न आरोह आरोह आइरहेका बताउँदै एमालेलाई एमाले बनाउने कुराको अगुवाइ केपी ओलीले नै गर्नुभएको बताउनुभयो । एमालेलाई कब्जा गर्ने र समाप्त गर्ने अभियानलाई ओलीले असफल गराउनुभएको ढकालले दाबी गर्नुभयो ।
मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवादको जगमा उभिएर देशमा समाजवादको आधार तयार गर्ने काम केपी ओलीले नै गर्नुभएको ढकालले स्पष्ट पार्नुभयो । मुलुकमा अराजकता, अस्थिरता, स्वेच्छाचारिता देखिएको अवस्थामा अनुभवी नेतृत्व आवश्यक रहेको र त्यो व्यक्तित्व केपी ओली नै भएको उहाँले बताउनुभयो ।
पार्टीमा ५ वर्षको लागि चुनिनु भएको नेता केपी शर्मा ओलीको विरुद्ध २ वर्षको अवधि नपुगेदेखि नै नेता बदल्नु पर्छ भन्ने कोणबाट आवाज उठाइएको भन्दै उहाँले आलोचना गर्नुभयो ।
‘पार्टी भित्र अस्थिरता निम्त्याउनको लागि पनि पार्टी बाहिर र भित्रैबाट यो काम भएको छ, अहिले मूलतः एमाले बिनाको नेपाल र केपी ओली बिनाको एमाले बनाउन केही शक्ति र व्यक्ति लागेका छन्, अहिलेको एमालेको आन्तरिक द्वन्द्व बढाउनको निम्ति एमालेका कार्यकर्ता भन्दा पनि एमालेका छिमेकीहरू लागेका छन्’, उहाँले भन्नुभयो ।
एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउन एमालेले मिसन २०८४ अघि सारेको र त्यसको कमाण्डर केपी शर्मा ओली नै भएको उहाँले स्पष्ट पार्नुभयो । तथापि लोकतान्त्रिक पार्टीमा महाधिवेशनबाट नयाँ खालेको परिवेश बन्यो भने पनि असहिष्णु हुन आवश्यक नरहेको ढकालले बताउनुभयो ।
विद्यादेवी भण्डारी पनि पार्टीको नेता नै भएको बताउँदै उहाँले उहाँको पार्टी सदस्यता नवीकरण नियमित प्रक्रिया भएको बताउनुभयो । भण्डारीले गत वर्ष पनि पार्टी सदस्यता नवीकरण गर्नुभएको र यस वर्ष पनि भएको भन्दै उहाँले त्यसलाई सभागृहमा गएर गरे जस्तो गरी प्रचार गर्न आवश्यक नरहेको स्पष्ट पार्नुभयो । उहाँले सक्रिय राजनीतिमा आउने गरी गरेको घोषणा पार्टीमा छलफल हुने र उचित ठाने एमालेजनले अनुमोदन गर्ने ढकालको भनाइ छ ।
पार्टी विधान अधिवेशनमा जान लागेको बताउँदै उहाँले सो अधिवेशनले पार्टीको विधि बनाउने बताउनुभयो । ‘अहिले विधान अधिवेशनमा नेतृत्वको कुरै छैन, नेतृत्व परिवर्तनको यो मौसम नै होइन’, उहाँले भन्नुभयो ।
पार्टीमामा ७० वर्षको उमेर हद र दुई कार्यकालका बारेमा कुरा गर्दै ढकालले अहिले एमालेको विधानमा दुई कार्यकालको व्यवस्था नै नभएको जानकारी दिनुभयो ।
उमेर हदको कुरा पार्टी एकता र नेताहरूको व्यवस्थापनको निम्ति अहिले पेण्डिङ राखेको बताउँदै उहाँले यसलाई विधान महाधिवेशनले टुङ्गो लगाउने स्पष्ट पार्नुभयो । आफैँ बसेर गरेका निर्णयप्रति पनि अनजान जस्तो भएर केही नेहरु प्रस्तुत भएका भन्दै उहाँले आलोचना गर्नुभयो ।
अहिलेको अवस्थामा खारिएको र असहज अवस्थामा पनि निर्णय गर्न सक्ने नेता चाहिन्छ भन्नुको अर्थ अरूको विरोध नगरेको उहाँले बताउनुभयो ।
अहिलेको अवस्थामा राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यक्तित्वका रूपमा केपी ओली नै भएको उहाँको धारणा छ । ‘विद्या भण्डारी आउने कुरा हुन नराम्रो होइन, तर अहिलेको आवश्यकताले चाहिँ केपी ओली नै हो भन्ने मात्र हो’, उहाँले भन्नुभयो ।
नेपाल सरकार मन्त्रीले घुसमा डिल गरेको सन्दर्भमा पार्टी र प्रधानमन्त्री जानकार नै भएको उहाँले स्पष्ट पार्नुभयो । ‘अनियमितता गरेर एमालेमा बस्ने छुट कसैलाई हुँदैन, यसको सत्य तथ्य एमालेबाट र सरकारबाट छिट्टै सार्वजनिक हुन्छ’, उहाँले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्